गृहपृष्ठ स्ववियुको अस्तित्व सकिएकै हो त !

स्ववियुको अस्तित्व सकिएकै हो त !

madhab-joshi-newskarobar

एक दिन बिहानै म शंकरदेव क्याम्पस पुगेको थिएँ । म क्याम्पसको रुखनिर उभिइराखेको थिएँ । दुईजना विद्यार्थी आउनुभयो र मलाई सोध्नुभयो– दाइ ! स्ववियु भनेको के हो ?

मेरो आँखाबाट आँसु आयो । मैले त्यो आँसु लुकाउने सफल प्रयास गर्दै मन्द मुस्कानमा भनेँ– स्ववियु भनेको विद्यार्थीहरुको हकहितका लागि काम गर्ने संस्था हो ।
उनीहरुले मलाई पुनः प्रश्न गरे– दाइ ! यो संस्थाको कार्यालय कता छ ?
मैले भनेँ– शंकरदेव क्याम्पसमा स्ववियु चुनाव भएको १० वर्ष बितिसक्यो तर अहिलेसम्म पनि चुनाव हुनसकेको छैन, यसको कार्यालय पनि छैन ।
फेरि उनीहरुले प्रश्न गरे– दाइ ! हामी भर्ना सम्बन्धी बुझ्न आएका हौं, कता सोध्ने होला ? मैले भनेँ– म पनि एउटा संगठनको मान्छे हुँ, के सहयोग गर्नुपर्यो ? म गरौंला ।
उनीहरुले भर्नासम्बन्धी बुझ्न खोजेका रहेछन् । मैले उनीहरुलाई सहयोग पनि गरेँ ।

हरेक दुई÷दुई वर्षमा हुनुपर्ने स्वतन्त्र विद्यार्थी युनियनको चुनाव २०६५ सालयता केही क्याम्पसमा अहिलेसम्म पनि हुनसकेको छैन । जब स्वयु निर्वाचनको कुरा चल्छ, त्यतिबेला हरेक विद्यार्थीमा जोस र जाँगर देखापर्छ तर अन्तिममा व्यक्तिगत संगठनात्मक तथा समूहगत फाइदा उठाउनका लागि जेसुकै पनि गर्ने नियतका कारण स्ववियु चुनाव हुनसकेको छैन । स्ववियु चुनाव होला नहोला, त्यो फरक प्राविधिक र राजनीतिक पाटो हो । तर, विद्यार्थी आन्दोलन शैक्षिक विकास तथा विद्यार्थीका हक र अधिकारका बारेमा समेत बहस हुन नसक्नु एउटा दुखद कुरा हो ।

देशमा राजनीतिक पद्धति र संरचनात्मक परिवर्तन भइरहेको अवस्थामा विद्यार्थी संगठनहरुभित्र राजनीतिक तथा शैक्षिक छलफल नै बन्द गरी व्यक्तिगत स्वार्थमा रुमल्लिने दलाली प्रथाले गर्दा सिङ्गो विद्याथी आन्दोलन इतिहासकै कमजोर मोडमा अडिएको आभाष हुन्छ । विभिन्न छलफल र विचार गोष्ठीहरुले नयाँ पुस्तामा राजनीतिक संस्कार सिकाउन पथ्र्यो तर दलाली प्रथाले व्यक्तिगत गुलामीबाहेक नयाँ कुरा केही न सिकाएको छ न त सिकाउने नै छ । स्ववियु निर्वाचनले राजनीतिक संस्कार सिकाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्थ्यो र अहिलेको व्यक्तिगत चरित्रले लोकतान्त्रिक पद्धति र सरकारलाई समेत ध्वस्त पर्दै गएको छ ।

नेपाली राजनीतिका सफल ऐतिहासिक व्यक्ति उत्पादन गर्ने कारखाना चिनिने विद्यार्थी आन्दोलन आज नेपाल सरकारका कारखाना जस्तै भएका छन् । जसरी नेपालका सरकारी कारखाना व्यक्तिगत बनाइएका छन्, त्यसैगरी नेपाली विद्यार्थी आन्दोलन पनि व्यक्तिगत तथा गुटगत बनेको छ । जुन नयाँ पुस्ताका लागि दुखद परिस्थिति हो ।

पञ्चायतको निर्दलीय व्यवस्थामा समेत स्वतन्त्र विद्यार्थीको निर्वाचन हुन्थ्यो तर आज देशमा स्थिर सरकार हुँदा पनि स्ववियु निर्वाचन नगराउनु दुखद कुरा हो । स्ववियु निर्वाचनको सन्दर्भमा विद्यार्थी संगठनहरुले एउटा राम्रो नमुना देखाएका छन् । उमेर हद लाग्ने भए पनि २०७३ सालमा सबै क्याम्पसमा चुनाव हुन सकेन तर यो नयाँ राजनीतिक संस्कार फलदायी हुनेछ । एउटा त नयाँ पुस्ताले अवसर पाउनेछ भने अर्कोतिर आकांक्षामा क्याम्पस छाडिसकेकाहरुले पनि भर्ना गरेर गैरविद्यार्थी बाहुल्य बढाउने काम यसले रोकेको छ । जतिखेर आफ्नो पार्टीलाई समस्या पर्छ, त्यतिखेर मात्र विद्यार्थी संगठन खोजिन्छ । आफ्नो सति बनाइन्छ । २०४६ र २०६२÷०६३ सालको उपलब्धि विद्यार्थी आन्दोलनले दिलाएको हो ।

नेपालमा लोकतन्त्र ल्याउने विद्यार्थी संगठनले गरेको आन्दोलनको भूमिका अग्रपंतिमा देखियो । स्ववियु निर्वाचन हुन नसकेका क्याम्पसमा बेथिति मौलाएको छ । भ्रष्टाचार बढ्दै गएको छ । शैक्षिक गुणस्तर खस्किँदै गएको छ । शिक्षक नै व्यापारी बनेका छन् । क्याम्पस प्रशासन तथा भौतिक संरचनासमेत व्यापारीकरण भएको छ । विद्यार्थीका कुरा सुन्ने कुनै युनियन छैन । क्याम्पस प्रशासन पारदर्शी छैन । सरकारी क्याम्पसमा विद्यार्थी संख्या घट्दै गएको छ । व्यवस्थापन संकायको सबैभन्दा ठूलो क्याम्पस शंकरदेवमा बिबिएस प्रथम वर्षको कुरा गर्ने हो भने पहिले तिन हजारदेखि पैंतिस सय विद्यार्थी भर्ना हुन्थे, यसपटक पन्ध्र सय करिब भर्ना भएका छन् ।

सरकारी क्याम्पमा किन घटे विद्यार्थी ?
– विश्वविद्यालय पाठ्यक्रममा तोकेअनुसारको समयमा पठनपाठन गराउन सकेको छैन ।
– तोकिएको समयमा परीक्षा सञ्चालन हुन सकेको छैन । समयअनुसार नतिजा प्रकाशन हुनसकेको छैन ।
– विद्यार्थीको हकहितका लागि बोल्ने न कुनै युनियन न त प्रशासन नै छ ।
– वैज्ञानिक परीक्षा प्रणालीको अभाव छ ।

स्ववियु चुनाव भएका क्याम्पसमा केही मात्रमा भए पनि पठनपाठन निरन्तर भइरहेको देखिन्छ । विद्यार्थीका हकहितका कुरा सुन्ने युनियनको आभाष गरिन्छ । खानेपानी, शौचालय, पुस्तकालय र कक्षाकोठा व्यवस्थापनको प्रत्याभूति गरिएको छ ।

राजनीतिलाई युवाले किन मन पराउँदैनन् ?
पदलाई प्रतिष्ठाको विषय बनाउने, त्यो प्रतिष्ठा प्राप्त गर्न जतिसुकै पैसा खर्च गर्न तयार हुने र पदमा पुगिसकेपछि खर्च भएको पैसा असुल गर्ने गैरकानुनी बाटो अपनाउने नितान्त गलत राजनीतिक संस्कारको विकास भएकाले अहिलेका युवा राजनीतिलाई नातावाद, पैसावाद र कृपावादको रुपमा चिन्छन् ।
राजनीतिप्रतिको घृणाभावको मान्यता परिवर्तन गर्न राजनीतिक संस्कार परिवर्तन गर्नुपर्ने हुन्छ । यसका लागि नयाँ पुस्ताले हिम्मत गर्नुपर्ने र स्ववियु निर्वाचन प्रत्येक दुई÷दुई वर्षमा हुनुपर्छ । युवा संसदको स्थापना गर्नु जरुरी छ । क्याम्पस विद्यार्थी जीवनको अन्तिम खुड्किला हो । र, स्ववियु क्याम्पसको महत्वपूर्ण संस्था भन्ने हो भने यसले एउटा काम गर्नैपर्छ । यो वर्ष केपी सरकारले स्ववियु निर्वाचन गराउनैपर्छ । शासन, प्रशासन जे चलाए पनि क्याम्पसबाट उत्पादित विद्यार्थीले देश चलाउने हो । विद्यार्थी संगठनको नेतृत्व र सरकारले पनि चुनाव नगराए नयाँ पुस्ता आफैं राजनीतिक तथा शैक्षिक विकासका लागि आफ्नो नेतृत्वदायी संस्था स्ववियुको रक्षाका लागि संघर्ष गर्न तयार हुनुपर्ने देखिन्छ ।

(जोशी शंकरदेव क्याम्पसमा अध्ययनरत छन् ।)

प्रकाशित समय १३:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु