गृहपृष्ठ कोरोनाबाट बच्न सबै सजग हुनुको विकल्प छैन : दुर्गाकुमार थापा

कोरोनाबाट बच्न सबै सजग हुनुको विकल्प छैन : दुर्गाकुमार थापा

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट सोमबार बिहानसम्म ३४ हजारले ज्यान गुमाइसकेका छन् । कोरोनाको तीव्र फैलावटका कारण विश्वभरका नागरिक त्रासद जीवन बिताइरहेका छन् । कोरोना संक्रमणबाट बच्न नेपाल सरकारले पनि उच्च सतर्कता अपनाइरहेको छ । देशभर चैत ११ गतेदेखि देशभर दुई साताका लागि लकडाउन गरिएको छ । जसका कारण असहज हुन गएको नागरिकको जीवनयापनलाई सहज बनाउन सरकारले हिजोमात्र राहत प्याकेज घोषणा गरेको छ । यस्तो विषम परिस्थितिमा स्थानीय सरकार के गरिरहेका छन् ? नागरिकका पीडासँग उनीहरू कसरी जोडिएका छन् ? नागरिकलाई स्थानीय सरकार भएको महसुस कसरी गराइरहेका छन् ? र, उनीहरूको दैनिक जीवनलाई सहज बनाउन कस्ता कार्यक्रम अघि सारेका छन् ? यिनै विषयमा उदयपुरको बेलका नगरपालिका प्रमुख दुर्गाकुमार थापा ‘स्वस्ती‘ सँग डीआर आचार्यले गरेको टेलिफोन कुराकानी :

कोरोना संक्रमणको सम्भावना उच्च भएसँगै सरकारले ‘सोसल डिस्टेन्सिङ‘का लागि दुई साताका लागि लकडाउन गरेको छ । यसलाई स्थानीय नागरिकले कसरी लिएका छन् ?

आज लकडाउनको सातौं दिन बितिसकेको छ । सुरुवाती दिनलाई स्थानीयले उत्सवका रुपमा लिए । ‘के होला यो लकडाउन’ भनेर हेर्न सडकमै निस्किए । हात बाँधेर सडकमा उभिनेको भीड नै लाग्यो । हामीलाई सम्झाउन निकै सकस पर्‍यो । विस्तारै उनीहरूले कुरा बुझ्दै गए । ‘आफूहरुलाई नै रोक लाग्नबाट बचाउन सरकारले लकडाउन गरेको रहेछ’ भन्ने बुझेपछि उनीहरू अनुशासित भएका छन् । उनीहरूमा रोगको त्रास र सजग रहनुपर्ने भन्ने चेतना दुवै विकसित भएको छ । टोल विकास समितिहरूले बाहिरबाट मानिस भित्रिन नदिन आफ्ना टोल छिर्ने बाटामा ढाट नै राखेका छन् ।

नागरिकलाई कोरोनाभाइरस संक्रमणबाट बचाउन नगरपालिका तहबाट के भइरहेको छ ?

नगरपालिकाले यसमा स्थानीय सामाजिक संस्था र टोल विकास समितिहरूको राम्रो सहयोग पाएको छ । उनीहरूसँग समन्वय गरेर हामीले काम गरिरहेका छौं । यसबीचमा ‘सोसल डिस्टेन्सिङ’को कारणबारे बुझाउन माइकिङ गर्दै चार‑पाँच दिन टोल‑टोल, घर‑घर पुग्यौं । ५० वटा जतिको स्वयंसेवक टोली बनाएका छौं । मेरै संयोजकत्वमा नगरस्तरीय र्‍यापिड रेस्पोन्स टिम बनाएका छौं । सबै वडाध्यक्षको नेतृत्वमा कम्युनिटी र्‍यापिड रेस्पोन्स टिम बनाइएको छ । यी टिमले सक्रियतापूर्वक जिम्मेवारी पूरा गरिरहेका छन् । यसबीचमा हामीले मास्क उत्पादन गरेर सस्तोमा बेच्यौं । शनिबार मात्र कोशीपुलदेखि आम्बासी, भागलपुर हुँदै कोशीपुलसम्मको रिङ रोडमा दुवैतर्फ गरी १२० किलोमिटर किटनासक औषधि छर्कियौं । बाहिरी जिल्लाहरूबाट स्थानीयलाई उद्धार गरेर पनि ल्याइरहेका छौं । विपत व्यवस्थापन सहयोग अभियान चलिरहेको छ, आजमात्र २ लाख ५० हजारजति सहयोग उठेको छ । त्यसमा बेलका नगरका सबै नगर सभा सदस्यले १० दिनबराबरको पारिश्रमिक सहयोग गरेका छन् ।

सर्वसाधारणसम्म कसरी पुगिरहनुभएको छ ?

हाम्रा सबै टिम अहोरात्र सम्भावित कोरोना संक्रमणविरुद्ध जुटेका छन् । स्वास्थ्य सेवाका कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवकसहित नगरपालिकाका टिम घर‑घर पुगेका छन् । विदेशबाट फर्किएका मानिसका घरमा पुगेर सेल्फ क्वारेन्टाइबारे जानकारी गराइरहेका छौं । तीन दिनको अवधिमा विदेशबाट फर्किएका ८९ जनाको घरमा पुगेर सेल्फ क्वारेन्टाइनमा बस्न भनेका छौं । उनीहरू कन्भिन्स भएका छन् । दैनिक यसैगरी वडा‑वडा घुमिरहेका छौं । प्रत्येक वडामा एकैपटक पुग्न सम्भन नहुने भएकाले बेलुका ८ बजे दिनभरका गतिविधिबारे स्थानीयलाई जानकारी गराउनुका साथै स्थानीयसँग थप जोडिनका लागि फेसबुक लाइभ गर्ने गरेको छु । फेसबुक लाइभका कमेन्ट हेरेर आवश्यकताअनुसार समस्या समाधान गर्ने र जिज्ञासा मेट्ने प्रयास गर्ने गरेको छु ।

सम्भावित संक्रमित व्यक्तिलाई राख्न क्वारेन्टाइन पनि बनाउनुभएको छ ?

हामीसँग भागलपुरमा रेडक्रस सोसाइटीको भवनमा र वडा नम्बर ८ मा गरी ४० जनालाई राख्न सकिने क्वारेन्टाइन तयार गरेका छौं । योभन्दा बढी हामीले होम क्वारेन्टाइन र सेल्फ आइसोलेसनलाई बढी प्राथमिकता दिएका छौं ।

किटनासक सुरक्षा सामग्रीको जोहो कसरी गर्नुभएको छ ?

हामी स्यानिटाइजर आफैं उत्पादन गरेर वितरण गरिरहेका छौं । त्यस्तै, २५ थान पिपिइ सुरक्षित राखेका छौं । मास्क मागअनुसार उत्पादन गरेर आपूर्ति गरिरहेका छौं ।

खाद्यवस्तुलगायतको आपूर्ति व्यवस्था कसरी मिलाउनुभएको छ ?

खाद्यवस्तुको आपूर्ति व्यवस्थाका लागि कल्याणकारी स्वयंसेवक संघलगायका सामाजिक संस्थाहरूबाट राम्रो सहयोग भइरहेको छ । बेलका नगरपालिकामा कुल ११ हजार ५५२ घरधुरी छन् । ती मध्ये ७५२ घरधुरी अतिविपन्न छन् । उनीहरूलाई हामीले करिब १७०० रूपैयाँबराबरको २५ किलो चामल, ३ किलो दाल, ३ किलो नुन, दुई लिटर खानेतेल र दुईवटा साबुन निःशुल्क घरमै पुर्‍याइदिन्छौं । अरु घरधुरीलाई पनि माग र आवश्यकताअनुसार यस्ता सामग्री सुपथ मूल्यमा घरमै उपलब्ध गराउन उद्योग वाणिज्य संघसँग समन्वय गरेर स्टक गरेका छौं । यो सहयोग वितरण चैत १९ गतेबाट सुरु हुनेछ । नगरले बनाएको प्रोफाइलको आधारमा सहयोग गरिनेछ । नगर र नागरिकको अवस्थाबारे नियमित अनुगमनमा छौं ।

लकडाउन छ, घरमै बस्नुपरेको छ, यस्तो अवस्थामा कृषि उत्पादन र त्यसमा पनि हरियो तरकारी उत्पादन शृंखला टुट्नसक्नेतर्फ कति सजग हुनुहुन्छ ?

हामी यसमा निकै सचेत छौं । हरियो तरकारीको उत्पादन शृंखला टुट्न नदिन २०४ जनाको लोकल एग्रिकल्चर रिसोर्स पर्सन (एलएआरपी) तयार छन् । उनीहरूमार्फत हामी करेसाबारीमा तरकारी उत्पादनमा प्रेरित गरिरहेका छौं । सप्तकोशी कृषक समूहलगायतले तरकारी संकलन तथा वितरणमा सहयोग गरेका छन् । स्थानीयले सहज रुपमा तरकारी माग गर्न सक्ने वातावरण बनाएका छौं । आवश्यकताअनुसार होम डेलिभरीको व्यवस्था मिलाएका छौं । यसबाहेक नगरपालिका परिसरमै तरकारी बिक्री केन्द्र खोलेका छौं । तरकारी किन्न आउनेहरूलाई डिस्टेन्स कायम राखेर वितरण गर्छौं । इन्धनलगायतको आपूर्ति व्यवस्था पनि यसैगरी मिलाएका छौं ।

नगरपालिका क्षेत्रमा कोरोना संक्रमण फैलिन सक्ने सम्भावना कति देख्नुहुन्छ ?

सावधानीका अनेकन उपाय अपनाउँदा‑अपनाउँदै पनि कोरोना संक्रमण फैलिनसक्ने सम्भाना उत्तिकै छ । कोरोनाविरुद्धको लडाइँमा तीनै तहका सरकार जुटिरहेको मौकामा बेला ढुंगा, गिटी, बालुवा चोरी निकासी भइरहेको छ, सामूहिक खेतीकै लागि हुन सक्छ सार्वजनिक जग्गा कब्जा भइरहेको पाइएको छ । यसमा हुने भीडभाड पनि जोखिम बन्न सक्छ । त्यस्तै भारतको दिल्लीलगायतबाट ठूलो संख्यामा मानिस गाउँ फर्किएका छन् । उनीहरू संक्रमणको माध्यम बन्न सक्छन् । बेलकासँग जोडिएको सप्तकोशी नगरपालिकामा ठूलो मुसहर बस्ती छ । सरसफाइ र चेतनास्तरमा उनीहरू निकै कमजोर छन् । सोसल डिस्टेन्सिङको भाषा बुझ्न उनीहरूलाई गाह्रो परिरहेको पाइएको छ । यसबाट संक्रमण नफैलिएला भन्न सकिन्न । क्रिश्चियनहरूले हरेक शनिबार गर्ने प्रभुको भक्ति पनि जोखिमको कारण बन्न सक्ने भन्दै यो सातादेखि नगर्न बल्ब‑बल्ल कन्भिन्स गर्‍यौं । विश्वका सम्पन्न देशहरूको बिजोग बनाइसकेको कोरोना संक्रमणबाट बच्न हामी सबै सजग हुनुको विकल्पै छैन ।

अन्त्यमा नागरिकलाई केही भन्न चाहनुहुन्छ ?

कोरोना संक्रमण एक जनासँग मात्र सम्बन्धित समस्या होइन । सहजै एक व्यक्तिबाट अर्कोमा सर्न सक्छ । तपाईंहरू यसलाई मजाकको रुपमा नलिइदिनुहोस् । डरत्रासमा पनि बस्नु पर्दैन । तर, अत्यन्तै सजग हुनुहोस् । चाडक्यले भनेझैं दुश्मन इन्भिजिबल भएर आउँछ भने आफूले पनि इन्भिजिबल भएरै लड्नुपर्छ र मात्र युद्ध जितिन्छ । हामी पनि यतिबेला कोरोनाविरुद्धको युद्ध लडिरहेका छौं । लकडाउनलाई समस्या मात्र नभएर अवसरका रुपमा पनि लिनुहोस् । यो समयलाई प्रतिभा प्रस्फुटनको माध्यम बन्न सक्छ, कविता लेख्नुहोस्, कथा लेख्नुहोस् । परिवारसँग समय मजाले बिताउनुहोस् । चिन्ता नलिनुस्, चिन्तन गर्नुस् । बेलुका सधैं ८ बजे मलाई सुन्नुहोस् । सरकारी आह्वानको पालना गराउन खट्ने सुरक्षाकर्मी, बेलका नगरका स्वास्थ्यकर्मी, स्वयंसेवक र सम्पूर्ण नागरिकलाई धन्यवाद ।

प्रकाशित समय १२:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु