गृहपृष्ठ प्रदेशको शान्ति सुरक्षाका लागि हामी गम्भीर छौँ : वसन्तकुमार पन्त

प्रदेशको शान्ति सुरक्षाका लागि हामी गम्भीर छौँ : वसन्तकुमार पन्त

सुरक्षाका दृष्टिले चाडपर्वको समय अरु बेलाभन्दा संवेदनशील हुन्छ । सवारी दुर्घटनादेखि चोरी, लुटपाट, लागुऔषध ओसारपसार गर्ने तथा जुवातास खेल्ने, अनियन्त्रित ढंगले जाँडरक्सी खाने र पटकालगायतका प्रतिबन्धित र विस्फोटक पदार्थको प्रयोग यो समयमा बढ्न सक्छ । चाडपर्वको समयमा हुनसक्ने विभिन्न आपराधिक गतिविधिविरुद्ध योजनाबद्ध ढंगले उभिने गरेको नेपाल प्रहरीलाई यो वर्ष कोरोनाभाइरस (कोभिड-१०) संक्रमण नियन्त्रण तथा रोकथामको अग्रमोर्चामा उभिनुपर्ने दबाब पनि छ । यही परिप्रेक्ष्यमा कर्णालीको सुरक्षा स्थिति, चाडपर्व विशेष योजना र शान्ति सुरक्षाको अवस्थाबारे प्रदेश प्रहरी कार्यालय प्रमुख तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्तकुमार पन्तसँग सीता वलीले गरेको कुराकानी :


चाडपर्वको समयमा प्रदेशमा शान्ति सुरक्षा कायम गर्नका लागि तपाईंहरुको योजना के छ ?
चाडपर्वमात्रै होइन, प्रदेशको शान्ति सुरक्षाका लागि हामी सदैव उत्तिकै संवेदनशील र गम्भीर भएर लागिपरेका छौँ । चाडपर्वमा अन्य समयमा भन्दा धेरै घटना हुन सक्ने भएकाले विशेष सुरक्षा योजना तय गरी मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिइसकेका छौँ । राजमार्ग सुरक्षा तथा ग्रामीण गस्ती, एक सय स्थानमा मोबाइल गस्ती, २८ स्थानमा नियमित चेक प्वाइन्ट, ट्राफिक प्रहरीसहित ३९ स्थानमा आकस्मिक चेक, २४ स्थानमा यात्रु सहायता कक्ष, २० स्थानमा धार्मिक तथा पर्यटकीय सुरक्षा, १७ स्थानमा बजार अनुगमन टोली, आर्थिक कारोबार बढी हुने ३१ स्थानमा अनुगमन टोली र क्वारेन्टिनमा आवश्यकताअनुसार प्रहरी परिचालन गर्ने योजना बनाएका छौँ । प्रदेशभर ३ हजार ७८९ प्रहरी जनशक्ति चाडपर्व लक्षित गरी खटाएका छौँ । यसबाहेक लागुऔषध ओसारपसार नियन्त्रण, खाद्यान्न तथा कालोबजारी नियन्त्रणलगायतका कार्यका लागि योजना तयार गरेका छौं । कर्णाली प्रदेशका १० वटै जिल्ला प्रहरी कार्यालयमा निर्देशन दिई कामसमेत सुरु भइसकेको छ । हरेक वर्ष हुने सुरक्षा योजनाभन्दा यो वर्षको सुरक्षा योजना अलि फरक छ । कोरोनाभाइरस संक्रमण फैलिन नदिनका लागि समेत यो वर्ष प्रहरीले योजना बनाएको छ ।

कर्णाली प्रदेशमा शान्ति सुरक्षा कायम राख्नका लागि जनशक्ति पर्याप्त छ ?
कर्णाली प्रदेशको जनसंख्या नै १५-१६ लाख हो । प्रदेशको जनसंख्या हेर्दा हामीसँग जनशक्ति अभाव छैन । प्रदेशभर करिब ५ हजार ९ सयभन्दा बढी प्रहरी जनशक्ति छ । चाडपर्वलाई लक्षित गरी मोबाइल गस्ती, गाडी गस्ती, पैदल गस्तीलगायतका लागि ३ हजार ७८९ प्रहरी परिचालित हुँदै छन् । अपराध अनुसन्धान, सिभिल, दंगा प्रहरी, भीआईपी सुरक्षालगायत पहाडी क्षेत्रमा समेत सुरक्षाको व्यवस्था कडा पारिएको छ । चाडपर्वमात्र नभएर अन्य समयमा पनि नेपाल प्रहरी हरेक ठाउँमा शान्ति सुरक्षा कायम राख्न लागिपरेको छ ।

कर्णाली प्रदेशमा प्रहरीका सबै युनिट छन् ?
देश संघीयतामा नजाँदै हाम्रा धेरै युनिट प्रदेश ५ को बाँकेमा थिए । संघीय प्रहरी कार्यालय, डग शाखा, तालिम केन्द्र, सवारी महाशाखा (एमसी) ल्याउन बाँकी छ । हामीले प्रदेश प्रहरी ऐनको ड्राफ्ट तयारी गरी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बुझाइसकेका छौँ । कानुनी रुपमा बलियो आधार भएपछि ती युनिट सारिनेछ । यी युनिट कर्णालीमा नभए पनि हामीले आवश्यकता परेको खण्डमा त्यहाँको जनशक्ति परिचालन गरी काम गरिरहेका छौँ ।

भौतिक पूर्वाधार अभाव र कानुन अभावको सामना कतिको गर्नुभएको छ ?
तत्कालका लागि हामीलाई भौतिक पूर्वाधारमा कुनै समस्या छैन । नयाँ युनिट आउने भएपछि समस्या पर्छ । त्यसका लागि सरकारी जमिन खोज्ने काम भइरहेको छ । कर्णाली सरकार र यहाँका स्थानीय तह जमिन उपलब्ध गराउने कुरामा सकारात्मक छन् । पूर्वाधार अभावकै कारण नागरिकको शान्ति सुरक्षामा हामी कमी हुन दिँदैनौँ । कानुनी बाधा खासै छैन । मुलुक नै संघीयतामा गएपछि कर्णाली प्रदेश त्यसबाट पछि हट्दैन । संघीय प्रहरी ऐनसमेत बनिसकेको छ । प्रदेश प्रहरी ऐन मन्त्रालयमा गइसकेको छ । ऐन निर्माण भएपछि प्रदेश सरकारको मातहतमा प्रहरी आउँछ र शान्ति सुरक्षा कायम गर्न अझै सहज हुन्छ । देशका सबै प्रदेशले आ-आफ्नो प्रदेशको शान्ति सुरक्षा कायम गर्न प्रयास गर्छन् । नागरिकले थप सुरक्षित महसुस गर्छन् । यसले शान्ति सुरक्षामा सहयोग पुग्छ । प्रहरी प्रमुख र प्रहरी वरिष्ठ उपरीक्षक संघीय सरकारमातहत भए पनि अन्य सबै जनशक्ति प्रदेश सरकारमातहत हुन्छ ।

कर्णालीमा बढ्दो घरेलु हिंसा र लागुऔषध ओसारपसार नियन्त्रणका लागि कस्ता योजना छन् ?
हामी अब दसैँतिहारलगत्तै घरघरमा गई घरेलु हिंसाका बारेमा सचेतना दिने अभियान सञ्चालन गर्दै छौं । त्यसबाहेक सामुदायिक प्रहरीले नागरिकसँग मिलेर चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । दसैँतिहारमा लागुऔषध ओसारपसार बढ्नसक्ने र अन्य घटना बढी हुनसक्ने भएकाले त्यसविरुद्ध प्रहरी सधैँ तयार छ । जनताले साथ नदिएसम्म प्रहरी एक्लैले केही गर्न सक्दैन । त्यसैले हरेक नागरिकले प्रहरीलाई साथ दिनुपर्छ । समाजमा घरेलु हिंसा र लागुऔषध ओसारपसार भएमा प्रहरीलाई खबर गर्ने जिम्मा नागरिकको हो । हामीले प्रदेशका १० वटै जिल्लामा सामुदायिक प्रहरी इकाइ राखेका छौँ । त्यसको नेतृत्व नागरिकले नै गर्ने भएकाले काम गर्नसमेत सहज छ । सामुदायिक प्रहरी कार्यक्रम प्रभावकारीसमेत छ । कर्णालीमा आत्माहत्याको दर धेरै छ । यसको कारण पनि घरेलु हिंसा र मदिरा तथा लागुऔषध नै हो । त्यसैले यसमा सबै सेचत हुन जरुरी छ ।

कर्णालीको प्रहरी प्रमुखको तर्फबाट प्रदेशका नागरिकलाई के सन्देश दिन चाहनुहुन्छ ?
कोरोना संक्रमणबाट हामीभन्दा ठूला देशसमेत नराम्ररी प्रभावित भएको अवस्था छ । यो संक्रमणका बीच नेपाल प्रहरीले जनताको जिउज्यानको सुरक्षा गरेको छ । कर्णालीसमेत कोरोना संक्रमणबाट अछुतो छैन । कर्णालीमा अन्य समस्यासमेत जटिल छन् । चाडपर्व नभनी नागरिकको सेवामा प्रहरी लागेका बेला कर्णाली प्रदेशका नागरिकले प्रहरीलाई सहयोग गर्नुपर्छ । सकेसम्म भीडभाड नगर्ने, जो जुन ठाउँमा छ, त्यही ठाउँमा बसेर महान पर्व दसैँ र तिहार मनाउने, जुवातास र मदिरा सेवन नगर्ने गर्नुपर्छ । संक्रमणको समयमा राज्यलाई नागरिकको सहायताको खाँचो हुन्छ । त्यसैले सरकारले लागू गरेका मापदण्डविपरीतका कुनै गतिविधि नगर्नुहोस् । कसैलाई कुनै पनि समस्या परेमा या कसैले सरकारले लागू गरेका मापदण्डविपरीतका काम गरेमा प्रहरीलाई जानकारी दिई सहयोग गर्न कर्णालीबासीलाई आह्वान गर्छु । दसैँ, तिहार र छठ पर्वको हार्दिक शुभकामना ।

प्रकाशित समय १२:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु