गृहपृष्ठ जनकपुरको चन्द्रिका मेडिकल सेन्टर मापदण्ड विपरित संचालन

जनकपुरको चन्द्रिका मेडिकल सेन्टर मापदण्ड विपरित संचालन

जनकपुरको रामानन्द चोकमा रहेको चन्द्रिका मेडिकल सेन्टर मापदण्ड विपरित संचालनमा रहेको पाइएको छ । जिल्ला स्तरीय संयुक्त बजार अनुगमन समितिले बुधबार गरेको स्थलगत अनुगमनको क्रममा दिसा, पिसाप, रगत लगायतको शारीरिक जाँच गर्ने उद्देश्य सहित शम्भुनाथ यादवको नाममा संचालनमा रहेको चन्द्रिका मेडिकल सेन्टरमा ल्याव नै नभएको पाइएको हो ।

त्यस्तै एक्सरे गर्ने मेशिन समेत वर्षौ देखि बिग्रिएको अवस्थामा रहेको पाइएको छ । मेडिकल सेन्टरका लेखापाल महेन्द्र प्रसाद पण्डितका अनुसार ल्याव तथा एक्सरे मेशिन बिग्रएकाले वैदेशिक रोजगारीमा जाने युवाहरुको मेडिकल तथा दिसा, पिसाप, रगत लगायतको शारीरिक जाँच गराउन आउने बिरामीहरुको दिसा, पिसाप, रगत संकलन गरेर अन्यत्र ल्यावबाट जाँच गराएर रिपोर्ट दिने गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयका अधिकृत समेत रहेका संयुक्त बजार अनुगमन समिति संयोजक दिनेश साहका अनुसार अनुसन्धानको लागि दर्ता लगायतको कागजात सहित जिल्ला प्रशासन कार्यालयका उपस्थित हुन निर्देशन दिएको बताए । साथै भौतिक, पूर्वाधारमा तत्कालै सुधार गर्न समेत निर्देशन दिएको उनले बताए ।

त्यस्तै बजरंग चोकमा डा.राघबेन्द्र झाले संचालन गरेको ओम दिर्घायु हस्पिटल समेत अव्यवस्थित हुनुको साथै जथाभावी फोहोर गरिएको पाइयो । हस्पिटल परिसरमा औषधी बिक्रि गर्ने गरि संचालनमा रहेको सान मेडिकल हलमा समेत संचालक पवन यादव अनुपस्थित हुनुको साथै दर्ता लगायतको कागजपत्र केही नभएको अनुगमन टोलीले जनाएको छ ।

जनकपुरको रामानन्द चोकमा रहेको गुडु नास्ता पसल बिना दर्ता वर्षौ देखि संचालनमा रहेको पाइएको छ । उक्त नास्ता पसललाई एक हप्ता भित्र दर्ता प्रक्रियामा आउन निर्देशन दिइएको तथा अटेरी गरे नियमानुसार कारवाही गरिने अनुगमन टोलीमा सहभागी घरेलु तथा साना उद्योग कार्यालयका जितेन्द्र प्रसाद सिंहले बताए ।

संयुक्त बजार अनुगममन टोलीले जनकपुर–८ स्थित जनकपुर आँखा अस्पताल सडकमा बैदेही तिवारीको नाममा दर्ता रहेको बैदेही सेवई तथा चाउमिन उद्योग, जनकपुर–३ स्थित जानकी मन्दिरको अगाडि रहेको हंसराज मिठाई पसल लगायतमा समेत अनुगमन गरिएको थियो । अनुगमन टोलीमा खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रविण तिवारीका साथै जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता थियो ।

त्यस्तै जिल्ला प्रशासन कार्यालयले साविक शिक्षा विकास समन्वय इकाई धनुषाका प्रतिनिधि लगायतको सहभागितामा जनकपुर नगरभित्रमा संचालित निजी विद्यालयहरुमा समेत अनुगमन गरेको थियो । जनकपुर–८ स्थित बजरंग चोकमा शिला देवीको नाममा दर्ता रहेको मोरनिङ ग्लोरी मेडियम स्कुल, जनकपुर–८ स्थित रामानन्द चोकमा अमरेन्द्र कुमार झाको नाममा दर्ता रहेको ग्यालेक्सी स्कुल र बजरंग चोकमा रहेको ओम इन्टरनेशनल स्कुलमा स्थलगत अनुगमन गरिएको थियो ।

अनुगमनको क्रममा इजाजत लगायतको कागजात तत्कालै उपलब्ध गराउन नसकेकाले २ दिन भित्र सम्पुर्ण कागजात सहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको अनुगमन टोली संयोजक दिनेश साहले बताए ।

यसअघि जनकपुर–९ स्थित थापा चोकमा रहेको युनाईटेड एकेडेमी र जनकपुर–४ स्थित बिसहारा चोकमा रहेको एजुकेशन प्वाइन्ट एकेडेमीमा स्थलगत अनुगमन गरिएको थियो । संयुक्त जिल्ला अनुगमन समितिले पछिल्लो समय शिक्षामा देखिएको विकृति तथा दैनिक उपभोग्य सामान, स्वास्थ्य क्षेत्र लगायतको देखिएको विकृतिलाई लक्षित गरेर अनुगमनलाई तिव्रता दिएको छ

प्रकाशित समय १६:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु