गृहपृष्ठ देवदह मेला : ठूलो आकारको खुकुरीमा दर्शको आकर्षण
देवदह मेला : ठूलो आकारको खुकुरीमा दर्शको आकर्षण
उठाउन मात्रै तीन जना मानिस चाहिने खुकुरी
रुपन्देहीको देवदहमा जारी राष्ट्रिय औद्योगिक ब्यापार मेला कृषि तथा पर्यटन महोत्सवमा ठूलो आकारको खुकुरीमा दर्शको मुख्य ध्यान जाने गरेको छ । मेलामा जाने जो कोहीले पनि ठूलो आकारको कुखुरीलाई हर्ने, फोटो खिच्ने गरिरहेको देखिन्छ ।
मेलामा आकर्षणको केन्द्र बनेको उक्त खुकुरी ४२ किलो तौल तथा ९८ इन्च लामो छ । खुकुरीलाई एक्लै मानिसले उठाउन नसक्ने र तीन जनाको सहायताले मात्र खुकुरी उठाउन सकिन्छ ।
बुर्तिवाङ आरन ब्यवसायी सेवा बागलुङ्गका मनबहादुर विकले पहिलो पटक देवदह मेलामा ठूलो आकारको खुकुरी ल्याएका हुन् । मेलाको स्टल नम्बर १ सय ४१ मा राखिएको खुकुरी नेपालकै ठूलो आकारको खुकुरी रहेको स्टलधनी मनबहादुर विकले बताएका छन् ।
मानबहादुरले आफ्नो आरनमा स्थानीय सरोज, गणेश, दुर्गा, दिनेश, मिलन, डम्बर, शंकर र पुरन गरी आठ जनाको सहयोगमा ११ दिन लगाएर खुकुरी तयार पारेका हुन् । आफ्नै लगानीमा बनाएको खुकुरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राख्न दिने इच्छा रहेको मनबहादुरले बताए ।
उनले नेपाल वीर गोर्खालीले बोक्ने खुकुरीको देश हो भनेर चिनाउन पनि स्वदेशी तथा विदेशीहरु भित्रिने अन्तर्राट्रिय विमानस्थलमा खुकुरी राखेर नेपाललाई चिनाउने रहर रहेको सुनाए । सो खुकुरीको बजारमूल्य अहिले एक लाख ११ हजार १ सय ११ रहेको विकले बताए । कसैले आफूलाई अडर दिए बनाएर दिने समेत बताए ।
यसैबीच देवदह मेलामा ताजा जुस विक्रि वितरण भइरहेको छ । सुन्तला, मौसम र कागतीका ताजा जुस मेलामा जाने दर्शकका लागि नौलो बनेको छ । गुल्मीको धुर्कोटमा रहेको आदर्श फलफूल प्रसोधन केन्द्रले देवदह मेलामा ताजा जुस राखेको हो ।
केन्द्रले विभिन्न प्रकारका फलफूललाई प्रसोधन गरेर जुस, जाम, सर्बत, जेलि लगायतका पदार्थ उत्पादन गरि मेलामा राखिएको स्टल धनी तथा केन्द्रका सञ्चालक नारायण पोखरेलले जानकारी दिए ।
वैदेशिक रोजगारीबाट फर्किएका पोखरेलले करीब ५ लाखको लगानीमा प्रशोधन केन्द्र सञ्चालन गरेको सुनाए । उनले मेलाको ९० नम्बरको स्टलमा रहेको केन्द्रमा जुससँगै लप्सीको अचार, क्याण्डी लगायतका बस्तु विक्रिवितरण गर्दै आएका छन् ।
देवदहको प्रदर्शनीस्थलमा फागुनको १७ गतेदेखि जारी मेला २८ गतेसम्म सञ्चालन हुनेछ भने मेलाको ३ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र १० करोडको कारोबार गर्ने लक्ष्य आयोजकले लिएका छन् ।
प्रकाशित समय १८:३९ बजे

















