गृहपृष्ठ कर्णाली प्रदेश : कानुन बन्यो तर बाटो बनेन

कर्णाली प्रदेश : कानुन बन्यो तर बाटो बनेन

karnali pradeshsabha फाइल तस्बिर

कर्णाली प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेशमा कानुन बने पनि विकास कार्यान्वयन नभएको बताएका छन् । आइतबार प्रदेश संसदको हिउँदे अधिवेशनको तेस्रो बैठकमा विशेष समयमा उनले कानुन बने पनि विकास नभएको बताए ।

‘हुम्ला मुगुमा विकास नहुनु स्वभाविक होला तर सुर्खेतमा विकास किन भएन । जताततै बाटो भताभुङ्ग छ,’ नेता शाहीले भने, ‘यस्तो समथल ठाउँमा पनि विकास नहुनु राम्रो होइन ।’

कानुन भएर पनि विकासका कार्य अवरूद्ध भएकोप्रति प्रतिपक्षी कांग्रेसका संसदीय दलका नेता शाहीले असन्तुष्टि जनाए । ‘कर्णाली सरकारले कानुन त निर्माण गरेको छ तर बाटो, विद्युत्, सिँचाईका लागि के ले रोकेको छ ?’ नेता शाहीको प्रश्न थियो ।

उनले सरकारमा बसेकाहरुले आफ्नो जिल्ला बनाउनमै केन्द्रित भएको भन्दै सरकारले प्रदेश बनाउनतर्फ सोच्नुपर्ने उल्लेख गरे । सरकारको गती शून्य भएको उल्लेख गर्दै नेता शाहिले अधिकांश कर्मचारी कर्णालीमा नबस्नु राजनीतिक दबाब समेत भएको बताए ।

त्यस्तै सांसद अम्मरबहादुर थापाले सरकारले चालु बजेट अध्याधिक खर्च गर्ने र पुँजीगत बजेट खर्च गर्न नसक्दा विकासमा अबरोध भएको बताए । विशेष समयमा सांसद मिनासिं रखाल, कृष्णा शाह,धर्मराज रेग्मी लगायतले बोलेका थिए ।

आइतबारको प्रदेशसभामा सामाजिक विकासमन्त्री दल रावलले कर्णाली प्रदेशमा खेलकुदको विकास गर्ने सम्बन्धमा कानुनी व्यवस्था गर्न बनेको विधेयक, २०७५ टेबुल गरेका थिए । त्यस्तै आन्तरिक मामीला तथा कानुनमन्त्री नरेश भण्डारीले कर्णालीमा सुशासन प्रत्याभूतिको व्यवस्था गर्ने सम्बन्धमा बनेको विधेयक २०७५ को लागि सैद्दान्तिक छलफलको लागि प्रस्ताव गरेका थिए ।

उक्त विधेयकको छलफलमा सांसद कुर्मराज शाही, कौशिला खत्री लगाएतले भाग लिएका थिए ।

प्रकाशित समय १६:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु