गृहपृष्ठ समय, बाजे र देश (कविता)
समय, बाजे र देश (कविता)
बाजे तिम्रो कथामा हिजोआज
देश भेटिँदैन ।
तिमीले सुनाएको एउटा कथा थियो
त्यो कथा रमाइलो थियो
मख्ख परेको थिएँ ।
साँच्चै होला कि जस्तो
जस्तो जस्तै, लाग्दा लाग्दै
कथा टुङ्ग्याएका थियौं ।
अधुरो कथा जिन्दगीको ।
तिमीले लडेका सङ्ग्रामहरू
तिमीले नापेका तीन पाउ भूमि
ब्राह्मणको रूपमा बलीलाई
विष्णुले दबाए, एउटा कालान्तरमा ।
तिम्रो र बजूको भेटेको कथा
कति प्रेमिल, राधा र कृष्णको जस्तो
तिम्रो प्रेमको निसानी चौतारो पनि
हिजोआज छैन ।
चौतारोका खुट्टाहरू खाए धमिराले ।
तिमीले प्रेमको निसानी रोपी राखेको
वर-पीपलको रुख
झ्याङ्गिएको छ विशालकाय आकारमा
त्यो वर र पीपलको रुखमा बस्छ साविक
आज पनि एक जोडा परेवा
सुनाउँछन् लडाइँका धुनहरू
परेवाले शान्तिको गीत गाउँदैनन् हिजोआज
प्रेमको गीत पनि सुनाउँदैनन्
जसरी गाउँथ्यो त्यो बेला ।
साँच्चै बाजे त्यो जोडा परेवाले
बारुद उगाल्न थालेको छ,
तयारीमा छ एउटा युद्धको
देशको मानचित्र हराएका काराङ–कुरुङ
चराहरू बेमौसम आकाशमा
देशको मानचित्र बनाउन खोज्छ ।
दुर्गाबाट थप
प्रकाशित समय १६:१५ बजे

















