गृहपृष्ठ निलम्बित एसपी विष्टद्वारा अदालतसमक्ष आत्मसमर्पण
निलम्बित एसपी विष्टद्वारा अदालतसमक्ष आत्मसमर्पण
तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख, निलम्बित एसपी डिल्लीराज विष्टले अदालतसमक्ष आत्मसमर्पण गरेका छन् । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा मुछिएका एसपी विष्टले मंगलबार बिहान जिल्ला अदालतमा आत्मसमर्पण गरेका हुन् ।
प्रमाण नष्ट गरेको तथा चरम यातना दिएको भन्दै निर्मलाकी आमा दुर्गादेवी र दिलिप विष्टका दाजु खडग विष्टले जिल्ला अदालत कञ्चनपुरमा एसपी विष्टसहित ८ प्रहरी अधिकारीविरुद्ध मुद्दा हालेका थिए ।
यसअघि गत फागुन २४ गते निर्मला प्रकरणमा यातना दिएको तथा प्रमाण नष्ट गरेको आरोप लागेका तत्कालीन एसपी डिल्लीराज विष्ट र डीएसपी अंकुर जिसीलाई २१ दिनभित्र अदालतमा उपस्थित हुन जिल्ला अदालत कञ्चनपुरले आदेश दिएको थियो । अंगुर जीसी भने अदालतमा हाजिर भएका छैनन् ।
यातना दिएको तथा प्रमाण नष्ट गरेको आरोप लगाउँदै फरक दुई मुद्दामा निर्मलाकी आमा दुर्गादेवी र दिलिपसिंह विष्टका दाजु खडक सिंह विष्टले उनीहरुसहित ८ जना प्रहरीविरुद्ध बुधबार मुद्दा दायर गरेका थिए ।
गत फागुन २३ गते प्रहरीले केही महिनाअघि मात्र अवकास पाएका प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञान बहादुर सेट्ठी सहित ६ जनालाई पक्राउ गरेकोे थियो भने बर्खास्तीमा परेका तत्कालीन एसपी विष्ट र निलम्बित डीएसपी अंगुर जिसीलाई फरारको सूचीमा राखिएको थियो । पक्राउ परेका अन्य छ जना आरोपी भने धरौटीमा छुटेका छन् ।
प्रकाशित समय १२:२९ बजे

















