गृहपृष्ठ अहिलेसम्म ‘विप्लव’ समूहका ३० बढी नेता कार्यकर्ता पक्राउ
अहिलेसम्म ‘विप्लव’ समूहका ३० बढी नेता कार्यकर्ता पक्राउ
शीर्ष नेता पक्राउ पर्न थालेपछि कार्यकर्तामा मनोबैज्ञानिक असर
सरकारले ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई विध्वंशकारी समूह घोषणा गरी कानुनअनुसार कारवाही गर्ने निर्णय गरेसँगै ३० बढी नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । काठमाडौंलगायत देशका विभिन्न स्थानबाट ती नेता कार्यकर्ता पक्राउ परेका हुन् । पक्राउ परेकालाई कानुनी कारवाही थालिएको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले बताए ।
प्रतिबन्ध लगाएपछि उपत्यकाबाट पाँच कार्यकर्ता पक्राउ परेका छन् । उपत्यका बाहिरबाट बाँकीलाई पक्राउ गरिएको हो । विप्लप समुहलाई प्रतिबन्ध लगाउनुअघि विभिन्न घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका थप नौ जनामाथि कारवाही जारी छ । पक्राउ पर्नेमा उक्त समूहका सबै भन्दा शीर्ष तहका नेताहरु स्थायी समिति सदस्य तथा मध्य कमान्डर भनिएका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ छन् ।
यस्तै केही दिनअघि पक्राउ परेका पोलिटब्यूरो सदस्य मोहन कार्की समेत जेलमै छन् । शुक्रबार ओलीसहित अरु ८ कार्यकर्ता पनि पक्राउ परेका छन् । धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्कासमेतलाई प्रहरीले पक्राउ गरेको हो । विगतमा चन्दा आतङ्कदेखि अपहरण, बम विष्फोट र व्यक्ति कारवाहीका घटनामा संलग्न रहेको आरोपमा उनिहरु पक्राउ परेका हुन् ।
यसअघि महानगरिय अपराध महाशाखाले मंगलबार काभ्रेबाटै विप्लप सहुहका कार्यकर्ता नुमबहादुर बिकसहित बिशाल उपनाम भएका राजिव तामाङ, शिव धिमाल र डेकेन्द्र राइलाइ पक्राउ गरेको थियो । पक्राउ परेका नेत्रविक्रम चन्दका सहयोगी सुर्य भुजेल, राजु कार्की, केदार खतिवडा, वीरेन्द्र नेपाली, विपिन लामा, रवीन्द्र केसी, ज्ञानेन्द्र बुढाथोकी र दयाराम दंगालले समेत अहिले मुद्धा खेपिरहेका छन् ।
सरकारले विप्लवको समूहसँग प्रत्यक्ष वा अप्रत्यक्षरुपमा संलग्न हुने व्यक्ति, संस्था र समूहलाई समेत कारवाही गर्ने निर्णय गरेको छ । विप्लव समूहका पछिल्ला गतिविधि राजनीतिकभन्दा पनि हिंसात्मक र आपराधिक देखिएको निष्कर्षका साथ सरकारले सो समूहरुलाई प्रतिबन्ध लगाएको हो ।
मुलुकभर विप्लप समुहको गतिविधिमाथि सुक्ष्म निगरानी गरी उच्च सतर्कता अपनाइएको तथा शान्ति सुरक्षा सबल र सुदृढ पारिएको प्रहरी प्रवक्ता सुवेदीले जानकारी दिए । गत फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आपराधिक समूह भएको निष्कर्ष निकाल्दै उसका गतिविधिमाथि कानुनअनुसार कारवाही गर्ने निर्णय गरेको हो ।
विप्लव समूहले विभिन्न क्षेत्रमा बम विष्फोट गराउनेदेखि आपराधिक क्रियाकलाप सञ्चालन गर्दै आएपछि सुरक्षा निकाय सो समूहप्रति चनाखो भएको हो ।
पक्राउ परेकालाई कस्तो कारवाही ?
सरकारले प्रतिबन्ध लगाएको विप्लप समुहका नेता तथा कार्यकर्तालाई राज्यविरुद्धको अपराध मुद्दामा कारबाही सुरु गरेको छ । यस्तो मुद्दामा आजीवन कैद सजाय हुन सक्छ । शुक्रबार पक्राउ परेका नेता ओलीसहितका नेता कार्यकर्तालाई राज्यविरुद्ध अपराध कसुर मुद्दामा कारबाही अघि बढाइदै छ ।
गत भदौदेखि लागू भएको फौजदारी अपराध संहिता ऐनमा राज्यविरुद्धको अपराध कसुरमा आजीवन कैद सजाय हुन सक्ने प्रावधान छ । नेपालको कानुनअनुसार आजीवन कैद सजाय भनेको २५ वर्षसम्म कैद सजाय हुन्छ । विगतमा सो पार्टीका कार्यकर्ता पक्राउ पर्दा विस्फोटक पदार्थ ऐन तथा ज्यानसम्बन्धी मुद्दा लगाइएको प्रहरी स्रोतले जनाएको छ ।
शीर्षनेता पक्राउपछि कार्यकर्तामा मनोवैज्ञानिक असर
विप्लव समूहको दोस्रो, तेस्रो वरियताका नेता पक्राउ पर्नुलाई प्रहरीले ठूलो सफलताका रुपमा लिएको छ । यसले विप्लप समूह कति कमजोर छ भन्ने स्पष्ट भएको प्रहरी अधिकारीहरु बताउछन् । स्थायी कमिटि सदस्य तथा मध्य कमाण्ड प्रमुख रहेका ओली पक्राउ गर्न सफलभएसंगै हौसिएका प्रहरीले अरु ठाउमा समेत सर्च अपरेसन तिब्र बनाएको छ ।
प्रहरी अधिकारीहरु भन्छन्, भूमिगत रुपमा संघर्ष गर्ने भन्दै नेतृत्व लिएका ठूला नेताहरु धमाधम पक्राउ परिरहेका छन्, यसबाट उनीहरुको संगठन कमति कमजोर रहेछ भन्ने पुष्टि हुन्छ ।’ शीर्षनेताहरु पक्राउ पर्नुले विप्लव समूहका कार्यकर्तालाई मनोवैज्ञानिक असर परेको सुरक्षा निकायको विश्लेषण छ । यता विप्लव समूहका नेताहरु भने ठूला नेताको गिरफ्तारीले पार्टीको आन्दोलनमा खासै फरक नपर्ने दाबी गर्र्दै आएका छन् ।
प्रकाशित समय १६:१८ बजे

















