गृहपृष्ठ भूकम्प प्रभावितको पुनःजाँच सर्वेक्षण हुने
भूकम्प प्रभावितको पुनःजाँच सर्वेक्षण हुने
सरकारले भूकम्प प्रभावित जिल्लामा छुट तथा पुनःजाँच सर्वेक्षण सुरु गर्ने भएको छ । यसअघि पनि छुटेका लाभग्राहीको पुन जाँच तथा लगत लिन सर्भे गर्न लागिएको हो । अहिले भूकम्प अतिप्रभावित १४ र कम प्रभावित १८ गरी ३२ वटै जिल्लामा छुट तथा पुनःजाँच सर्वेक्षण गरिन लागेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । भूकम्पलगत्तै केन्द्रीय तथ्याङ्क विभागबाट पहिलो पटक सर्वेक्षण गरिएको थियो ।
पुनः छुट तथा पुनःजाँच सर्वेक्षण शुक्रबारदेखि सबै जिल्लामा सुरु गर्ने भनिएको केही दिन पर सरेको छ । छुट तथा पुनःजाँच सर्वेक्षण प्राविधिक तथा इन्जिनियरको आन्दोलनका कारण केही जिल्लामा प्रभावित भएको प्राधिकरणले जनाएको छ । सर्वेक्षकको तालिम सकिएका जिल्लामा शुक्रबारदेखि काम थालिएको र अरु जिल्लामा आइतबारसम्म तालिम सक्न भनिएको प्राधिकरणका उपसचिव एवं छुट तथा पुनःजाँच सर्वेक्षणका समन्वयकर्ता मनोहर घिमिरेले बताए ।
‘लाभग्राहीमा नपरेको भनी गुनासो दर्ता गराएका ३२ वटै जिल्लाका गुनासोकर्ताको छुट तथा पुनःजाँच सर्वेक्षण हुनेछ,’ उनले भने, ‘निजी आवास पुनर्निर्माण लाभग्राहीमा सूचीकृत हुन पाउँ भनी गुनासो गरेका, पहिलेको मुख्य सर्वेक्षणमा छुट भएका, थप यकिन गर्नुपर्ने भनी तोकिएका गुनासोकर्ताको सर्वेक्षण हुनेछ ।’
छुट तथा पुनःजाँच सर्वेक्षण २०७४ मा लगत संकलन नभएका गुनासोकर्ता र स्थानीय तहमा तोकिएको समय सीमाभित्र नयाँ दर्ता गरिएका गुनासोको पनि सर्वेक्षण हुनेछ । सर्वेक्षणका लागि ५ सय ५० प्राविधिक तथा इञ्जिनियर परिचालन भएका छन् । भूकम्प लगत्तै केन्द्रीय तथ्याङक विभागले सर्वेक्षण गर्दा स्थानीय तहमा जनप्रतिनिधि थिएनन् । अघिल्लो वर्ष छुट तथा पुनःजाँच सर्वेक्षण हुँदा निर्वाचन आचारसंहिताका कारण टोली भूकम्प अति प्रभावित १४ जिल्ला बाहेक बाँकी कम प्रभावित १८ जिल्लामा पुग्न सकेन ।
प्रकाशित समय १८:१७ बजे

















