गृहपृष्ठ बारामा भीषण हावाहुरी, २४ जनाको मृत्यु, सयौं घाइते

बारामा भीषण हावाहुरी, २४ जनाको मृत्यु, सयौं घाइते

बारामा भीषण हावाहुरीले आइतबार ठूलो जनधनको क्षति गरेको छ । हावाहुरीका कारण कम्तिमा २४ जनाको मृत्यु भएको छ भने सयौं मानिस घाइते भएका छन् । सडकमा रोकिराखेका बस पल्टिएर तथा घर भत्किएर मानिसहरु हताहत भएका प्रहरीले जनाएको छ । सडकमा रोकेर राखिएका २५ वटा बस हावाहुरीले पल्टाइदिएको छ भने भुसका कैयौं घरहरु भत्काइदिएको छ । पानी र हावाहुरीका कारण जिल्लाको पर्वानीपुर र फेटा गाउँपालिकामा सबैभन्दा बढी क्षति गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार फेटा गाउँपालिका–१ भलुई भरवलियामा हावाहुरीले घर भत्काउँदा पाँच जनाको मृत्यु भएको छ जसमा एक बालक पनि परेका छन् । उक्त गाउँमा हावाहुरीका कारण दर्जनौं मानिस घाइते भएका छन् । कतिपय घाइतेको अझै उद्दार गर्न नसकिएकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ ।

हावाहुरीले सडक छेउका रुख र बिजुलीको पोल ढाल्दा घाइतेको उद्धारमा कठिनाइ भएको घटनास्थलमा रहेका बाराका एसपी सानुराम भट्टराईले न्युज कारोबारलाई बताए । उनका अनुसार घाइतेको उद्धारका लागि सडकको अवरोध हटाउने काम भइरहेको छ । उद्धार गरिएका घाइतेलाई उपचारका लागि वीरगन्जका विभिन्न अस्पतालमा पठाइएको छ ।

प्रकाशित समय २३:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु