गृहपृष्ठ भीषण हावाहुरीले बारा र पर्सामा ज्यान गुमाउनेको संख्या २७ पुग्यो, सयौं घाइते

भीषण हावाहुरीले बारा र पर्सामा ज्यान गुमाउनेको संख्या २७ पुग्यो, सयौं घाइते

अस्पतालमा बेड र रगत अभाव, उद्दार जारी

बारा र पर्सामा भीषण हावाहुरीले आइतबार ठूलो जनधनको क्षति गरेको छ ।

हावाहुरीका कारण अहिलेसम्म २७ जनाको मृत्यु भएको छ भने ५०० भन्दाबढी मानिस घाइते भएका छन् । घाइतेहरुको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । कलैया अस्पतलामा मात्रै २ सयको हाराहारीमा घाइते रहेको प्रहरीले जानकारी दिएको छ । सो अस्पतालमा जम्मा ५ जना मात्रै डाक्टर छन् । कलैयामा उपचार नभएकालाई वीरगन्जको नारायणी अस्पताल र नेशनल मेडिकल कलेजमा पठाइएको छ । अस्पतालमा घाइते धेरै हुँदा रगतको अभाव छ ।

भिषण हावाहुरीका कारण बाराको फेटा गाउँपालिका–३, गछिया टोल ५ जनाको, सोही गाउँपालिकाको पुरैनिया गाउँमा ९ जनाको मृत्यु भएको छ । यस्तै भरवलीयामा ५ जनाको मृत्यु भएको बताइएको छ । कलैया उपमहानगर धरमनगर र सुवर्ण गाउँपालिका हर्दियामा एक–एक जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ । पर्शुरामपुरामा पनि केहीको मृत्यु भएको बताइएको छ ।

यता, नारायणी उपक्षेत्रीय अस्पताल विरगजमा उपचारका क्रममा अहिलेसम्म ६ जनाको मृत्यु भएको छ । अस्पतालमा कार्यरत प्रहरी हवलदार कृष्ण गिरीका अनुसार हावाले बस अनियन्त्रित भएर पल्टिदा पर्सा वीरगन्ज–१८ भवानीपुरका १८ वर्षीय सरोज राम, बारा फेटा गाउँपालिका भरवलिया १ का ६ वर्षीय नन्दलाल पटेल, ५५ वर्षीय हरिनारायण दास , ४५ वर्षीय मनरवा देवी, २४ वर्षीय रुवी देवी र बाराकै पर्सौली गाउँपालिका–४ बस्ने वर्ष ५५ का अक्षयलाल माझीको शव अहिले नारायणी अस्पताल विरगजमा छ ।

माटोले बनेका घरलाई विद्युतको पोल र रुख लडेर च्यापिएर धेरैको ज्यान गएको हो । हावाहुरीले सडक छेउका रुख र बिजुलीको पोल ढाल्दा घाइतेको उद्धारमा कठिनाइ भएको घटनास्थलमा रहेका बाराका एसपी सानुराम भट्टराईले न्युज कारोबारलाई बताए । जमिनमुनी गाडिएको चापाकलको हेडसमेत हावाले उखलेको छ । सडकमा रोकिराखेका बस पल्टिएर पनि मानिसहरु हताहत भएका प्रहरीले जनाएको छ । सडकमा रोकेर राखिएका २५ वटा बस हावाहुरीले पल्टाइदिएको छ भने भुसका कैयौं घरहरु भत्काइदिएको छ ।

कतिपय घाइतेको अझै उद्दार गर्न सकिएको छैन । उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै स्थानीय तथा सर्वसाधारण जुटिरहेका छन् ।

प्रकाशित समय ०७:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु