गृहपृष्ठ आँधीहुरीको पूर्वानुमान किन हुन सकेन ?

आँधीहुरीको पूर्वानुमान किन हुन सकेन ?

महाशाखा भन्छ– आँधी पूर्वानुमानको संयन्त्र नै छैन

hawahuri-bara-newskarobar

समुद्री तटीय क्षेत्रमा आउने शक्तिशाली आँधीजस्तो हावाहुरी बारा पर्सामा आउनुअघि पूर्वानुमान गर्न नसक्दा धेरै क्षति भएको सरोकारवालाहरुले बताएका छन् । पहिलोपटक नेपालमा यस्तो शक्तिशाली आँधी आएपनि पूर्व जानकारी लिन र सोही अनुसार सुरक्षा र सावधानी अपनाउन सूचना जारी गर्न नसक्नुले धेरै धनजनको क्षति भएको सोरोकारवालाको भनाइ छ । समुन्द्रसँग सीमा जोडिएका देशहरुमा समुद्री आँधी आउनु सामान्य मानिन्छ । तर त्यहाँ आँधीको पूर्वानुमानसहित सुरक्षा उपाय अपनाइन्छ । जसले गर्दा धेरै जनधनको क्षती हुँदैन ।

तर नेपालमा भने समुद्री क्षेत्रमा आउने आँधी जत्तिकै शक्तिशाली हावाहुरी बारा र पर्सामा आउदा किन पुर्वानुमान गर्न सकिएन भन्नेमा सबैको चासो छ । जल तथा मौसम विज्ञान विभागले पानी पर्ने, हावाहुरी चल्ने र हिमपात हुने जस्ता विषयमा पूर्वअनुमान गर्दै आएको छ । तर आइतबार साँझ बारा, पर्सामा प्रकृतिले देखाएको ताण्डवका बारेमा किन पूर्वअनुमान भएन भन्दै विभागको आलोचना भइरहेको छ ।

चैतदेखि जेठसम्मको समय प्रि–मनसुनको हो । पानी पर्नु र हावाहुरी चल्नु सामान्य भएपनि आँधीकै शैलीमा नै हावा चल्नु भने अस्वाभाविक मानिएकाे छ ।  नेपालका मौसमविद्ले पनि यत्रो आँधी आउने अनुमान नगरिएको भन्दै यो आँधी अनुसन्धानको विषय भएको बताएका छन् । विगत केही दिनदेखि पश्चिमी न्यून चापिय प्रणालीको असर देखिएपनि शक्तिशाली आँधी भने आकस्मिक रुपमा उत्पन्न हुन गएको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सुरजकुमार वैद्यको भनाइ छ ।

उनले भने ‘वायुमण्डलको माथिल्लो भाग अस्थिर बन्न जाँदा सिमित स्थानमा छोटो समयमा नै आँधीको विकास भयो । फलस्वरुप बारा, पर्साका विभिन्न क्षेत्रमा आँधी उत्पन्न भएको हो ।’ प्रि–मनसुनका कारण वायु मण्डलमा न्यून चापिय क्षेत्रको स्थापना भएर पोखराको आकाशमा थप नयाँ बादल विकास भयो र त्यो बादल दक्षिण पूर्वतर्फ बहँदा बारा र पर्सालाई मुख्य प्रभावमा पा¥यो र ठूलो मात्रामा क्षति पु¥याएको उनको भनाई छ ।

विभागका अनुसार यस्तो मौसमी पूर्वानुमान गर्न गाह्रो हुने भन्दै विकसित मुलुकले समेत पत्ता लगाउन सकेको छैन । मौसमी पूर्वानुमान प्रणालीको अनुसन्धानमा नयाँ प्रविधि र जनशक्ति नहुँदा ठूलो क्षति भएको विभागकी मौसमविद् शान्ति कँडेलको भनाइ छ ।स्थानीय वायुको प्रभाव तल्लो भेगमा आकलन गर्न गाह्रो हुने भन्दै पूर्वानूमान गर्न समस्या भएको उनले बताइन् ।

‘हामीले सामान्य रुपमा हावाहुरी आउछ भनेर पूर्वानुमान गरेका थियौ, तर बारा र पर्सामा मात्रै यति ठूलो हावाहुरी आँउछ भनेर अनुमान गरेका थिएनौ, हामीसँग प्रविधि नभएकाले जोखिम छ भन्ने पत्ता लगाउन सकेनौं’ उनले भनिन् । बारा र पर्साको आँधी प्रतिघण्टा ८० किलोमिटर बराबरको रहेको अनुमान छ । मौसमका विषयमा विशेष जानकारी राखेर अध्ययन गर्ने प्रणाली र जनशक्ति नभएकाले पूवार्नुमान नभएको विज्ञहरुको भनाइ छ ।

हाल नेपालमा ७२ घण्टा सम्मको अनुमान हुने प्रविधी छ । त्यो पनि ठूला तथा कुनै क्षेत्रमा मात्र हुने हावाहुरी र बर्षाको बारेमा जानकारी दिने यन्त्र छैन । छिमेकी देश भारतमा १५ दिनदेखि एक महिनासम्मको अनुमान गर्ने गरिएको छ । आकस्मिक रुपमा हुने यस्ता विपद्को भने अनुमान गर्न गाह्रो रहेको महाशाखाका अधिकारीहरु बताउँछन् । त्यसैले पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने विज्ञहरुले सुझाव दिएका छन् ।

प्रकाशित समय १६:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु