गृहपृष्ठ ‘गाँजाहिल’ पदमार्ग अध्ययन गरिने

‘गाँजाहिल’ पदमार्ग अध्ययन गरिने

महाभारत पर्वत श्रृङ्खलाअन्तर्गत धादिङ र मकवानपुरको सीमा क्षेत्रमा रहेको झण्डाचुलीमा नेपालको राष्ट्रिय झण्डा फहराउँदै नयाँ पदमार्ग अध्ययनको घोषणा गरिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कंडेलले थाक्रे गाउँपालिका ३ मा रहेको झण्डाचुलीको चुचुरोमा १५ मिटर अग्लो पोलमा नेपालको राष्ट्रिय झण्डा स्थापना गरे ।
पर्यटनको प्रच्युर संभावना बोकेको भूमिचुली क्षेत्रको सबै भन्दा अग्लो झण्डाचुलीमा २०३२ सालतिर नेपालको राष्ट्रिय झण्डा गाडिएको थियो । इतिहासलाई स्मरण गर्दै पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यले भूमिचुली क्षेत्र पर्यटन प्रवद्र्धन नागरिक अभियानको आयोजनामा झण्डा स्थापना गरिएको हो ।
मकवानपुरको थाहा नगरपालिका, धादिङको थाक्रे र गल्छी गाउँपालिकाको संगमस्थल झण्डाचुलीलाई केन्द्रित गरी एकीकृत पर्यटन पूर्वाधार निर्माण गर्न आवश्यक रहेको कार्यक्रमका प्रमुख अतिथि रहेका योजना आयोगका उपाध्यक्ष कंडेलले बताए । ऐतिहासिक, प्राकृतिक, धार्मिक, साँस्कृतिक महत्व बोकेको यस क्षेत्रमा एकीकृत पर्यटन पूर्वाधार निर्माण गर्दा छिटो समृद्धि हासिल हुने भएकाले आफुले यस क्षेत्रलाई प्राथमिकतामा राखेको उनले बताए ।
आदिबासी जनजाती तामाङ र चेपाङको बसोबास रहेको यस क्षेत्रमा नयाँ पदमार्ग खोल्न यही वर्ष अध्ययन हुने जानकारी दिए ।
नाम गाँजा पदमार्ग खाख्न प्रस्ताव
कार्यक्रमका विशेष अतिथि धादिङका सांसद भुमि त्रिपाठीले यस क्षेत्र हुँदै अध्ययन गर्न लागिएको चनद्रागिरी चेपाङहिल पदमार्गलाई गाँजा ट्रेकिङ ट्रायल नाम राख्न प्रस्ताव गरेका छन् । यस क्षेत्रमा अत्याधिक उत्पादन हुने गाँजाको महत्वबारे प्रष्ट पार्दै त्रिपाठीले पदमार्गको नामै गाँजाहिल राख्ने बताए । उनले भने ‘गाँजा ओसार पसार गर्न प्रतिबन्ध छ, नामै राख्न त प्रतिबन्ध छैन नि !’
गाँजालाई विकसित राष्ट्रहरुले लागु औषध हैन, औषधि भनेर खुल्ला गरिसकेको बताउँदै त्रिपाठीले हामी किन प्रतिवध्न लगाइरहने भनेर प्रश्न गरे । त्रिपाठीले गाँजा ओसारपरास गरेको, भरिया भएको निहँुमा दर्जनौं स्थानीय अझै जेल परेको बताउँदै कानुनमै संसोधन गरेर यसलाई फुकुवा गर्नु पर्ने बताए ।

प्रकाशित समय १७:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु