गृहपृष्ठ सरकारबाट पुनर्कर्जा पाइएन : होटल व्यवसायी

सरकारबाट पुनर्कर्जा पाइएन : होटल व्यवसायी

सरकारले चालू बजेटमार्फत कोभिड–१९ बाट ग्रसित उद्योग व्यवसायलाई राहतका लागि पुनर्कर्जा कोषको व्यवस्था गरे पनि त्यस्तो कर्जा हालसम्म पाउन नसकेको गुनासो पोखराका होटल व्यवसायीले गरेका छन् । कोभिड संक्रमणले होटल तथा पर्यटन व्यवसायमा देखापरेका समस्यामा केन्द्रित भएर पश्चिमाञ्चल होटल संघ पोखराले आइतबार आयोजना गरेको बृहत् छलफल कार्यक्रममा व्यवसायीले त्यस्तो गुनासो गरेका हुन् ।

नेपाल राष्ट्र बैंकले विभिन्न बैंकमार्फत सहुलियत दरको पुनर्कर्जा व्यवसायीलाई प्रदान गर्ने घोषणा गरे पनि व्यवहारमा उक्त कर्जा नपाएको कार्यक्रमका सहभागीको भनाइ छ । कोभिडसँगै होटल व्यवसाय र पर्यटन क्षेत्र ठूलो समस्यामा परेको अवस्थामा सदस्य तथा पदाधिकारी व्यवसायीबीच एक‑अर्कालाई परेका समस्या आदानप्रदान गर्ने र तिनलाई समाधान गर्न पहल गर्ने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।

सरकारद्वारा व्यवसायीलाई राहत प्रदान गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थामार्फत प्रदान गर्ने पुनर्कर्जा, कर्जाको पुनर्तालिकीकरण र सहुलियत कर्जा प्राप्त गरे, नगरेको तथा गण्डकी प्रदेश सरकारद्वारा ल्याइएको व्यवसाय जीवन रक्षा (कोष) कर्जा सम्बन्धमा छलफल गरिएको थियो । यसैगरी विद्युत् माग (डिमान्ड) शुल्क तथा महसुल एवं विभिन्न अन्य कर सम्बन्धमा पनि व्यवसायीले छलफल गरेका थिए ।

होटल संघ नेपालका सदस्य एवं पश्चिमाञ्चल होटल संघ पोखराका सल्लाहकार विप्लव पौडेलले सहज ढंगले व्यवसायीले पुनर्कर्जा पाउन नसक्नु दुःखद् भएको बताए । अहिले पर्यटन व्यवसाय डुब्ने कि उत्रने भन्ने जस्तो अवस्थामा रहेको स्मरण गराउँदै उनले गण्डकी प्रदेश सरकार र मुख्यमन्त्रीलाई व्यवसायीका समस्याबारे अवगत गराइसकिएको जानकारी दिए ।

पश्चिमाञ्चल होटल संघ पोखराका सल्लाहकार हरिप्रसाद शर्मा गैरेले पर्यटन क्षेत्रले उद्योग सरहको लाभ लिन नपाएको बताए । यसका लागि व्यावसायिक एकतामार्फत सरकारलाई दबाब दिन जरुरी रहेको धारणा राखे ।

होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले व्यवसायीलाई हेर्ने सरकारी दृष्टिकोण सकारात्मक नहुँदा पनि पर्यटन व्यवसाय अहिले थप प्रताडित हुनुपरेको गुनासो गरे । कोभिडको महामारीमा पनि संघले केही महिनाअघि पूर्वीनेपालमा ‘जाऊँ है पोखरा’ अभियानलाई निरन्तरता दिएको, पूर्वका व्यवसायीको टोलीसमेत पोखरा आएको र आगामी दिनमा पश्चिम नेपालमा पनि ‘जाऊँ है पोखरा’ अभियानलाई निरन्तरता दिइने जानकारी दिए ।

यसैगरी भारतमा ‘चलिए पोखरा’ र चीन तथा अन्य देशमा समेत नेपाल पर्यटन बोर्डसँग मिलेर प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गर्ने योजनामा संघ रहेको उनले बताए ।

संघका सल्लाहकार गोविन्दराज पहारी, अग्रज पर्यटन व्यवसायी रामचन्द्र भट्टराईलगायतका व्यवसायीले सबैभन्दा पीडित नै अहिले होटल क्षेत्र भएको बताए । सरकारले यो क्षेत्रलाई रुग्ण उद्योगका रूपमा घोषणा गरेर सहुलियत दिनुपर्ने उनको माग छ ।

नियमित कर तिरे पनि अहिले संकट पर्दा सुविधा पाउन नसकेको होटल व्यवसायीको आरोप छ । सहभागीले कोभिडको असर अझै कम्तीमा तीन वर्ष पर्यटनमा पर्ने भन्दै दीर्घकालीन योजनाका साथ अगाडि बढ्न जरुरी भएको सुझाव दिएका छन् ।

सरकारले पुनर्कर्जाको व्यवस्था गरे पनि पाउन नसकिएको, बैंकले अनेक बहाना बनाएर व्यवसायीलाई दुःख दिने गरेको, झुलाउने गरेको र साना व्यवसायीलाई वास्ता नगरेको सहभागीको गुनासो छ ।

प्रकाशित समय ०८:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु