गृहपृष्ठ पर्यटनको प्रवर्द्धनका लागि काठमाडौं-चितवन-पोखरा मोटर र्‍याली

पर्यटनको प्रवर्द्धनका लागि काठमाडौं-चितवन-पोखरा मोटर र्‍याली

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न र क्यान्सर रोगबारे जनचेतना फैलाउन काठमाडौं-चितवन-पोखरा मोटर र्‍याली आयोजना हुने भएको छ । सोमबार भएको पत्रकार सम्मेलन गर्दै केजीएच फाउन्डेसनले ‘द अम्याजिन मोटर र्‍याली २०२१’ काठमाडौं, चितवन हुँदै पोखरासम्म चलाइने जनाएको हो । र्‍याली रोटरी क्लब अफ बागमती र केजीएच फाउन्डेसनको आयोजनामा यही माघ ३० गते र फागुन १ गतेबाट आयोजना हुन लागेको हो ।

¥याली आयोजक समितिका संयोजक दिवाकर राजकर्णिकारका अनुसार पहिलो दिन भृकुटीमण्डपबाट बिहान ७ बजे भद्रकाली, सिंहदरबार, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, कलंकी, नागढुंगा खानीखोला, गजुरी, चितवन हुँदै नारायणघाट, सौरहा पुग्नेछ । त्यस्तै दोस्रो दिन सोही स्थानबाट सुरु भई मुग्लिन, दमौली, पोखरा गेट, कालीमाटी चोक, शान्ति स्तुपा, बसुन्धारा पार्क, लेकसाइड हुँदै फ्रन्ट रिसोर्टमा पुगेर विश्राम गरिनेछ ।

‘क्यान्सर रोगको नियन्त्रण गर्ने अभियान, पहिला देश अनि विदेश’ भन्ने नारालाई सँगै लिएर जाने महत्वपूर्ण उद्देश्यसहित र्‍यालीको आयोजना गरिएको संयोजक राजकर्णिकारले बताए । उनले भने, ‘यस वर्ष पनि (Cervical Cancer Nepal) नारा आममानसमा जनचेतना जगाउने र हामी प्रत्येक नागरिकले आ-आफ्नो क्षेत्रबाट योगदान गर्न सके क्यान्सर जस्तो भयावह मानिने रोग माथि विजय हासिल गर्न सकिन्छ भन्ने नारा यस वर्षको र्‍यालीको उद्देश्य हो ।’

उनका अनुसार र्‍यालीमा सहभागी गाडी संख्या ४० तोकेको छ । र्‍यालीमा सहभागी हुनेहरुले ट्राफिक नियमलाई पूर्ण पालना गरी निश्चित बाटो, निर्धाधित गतिमा मात्र चलाउन पाउने छन् । यो मोटर र्‍याली समय, दुरी र गतिको आधारमा तय गरी बाटोमा विभिन्न जनचेतनामूलक काम गर्दै प्रतियोगितामा सहभागिता गराइनेछ । प्रतियोगिता रमाइलो, लाइफ टाइम अनुभव हुने बताए । गति मापनको लागि प्रत्येक गाडीमा सवारी ट्याक्टर डिभाइस जडान हुने उनले बताए ।

प्रकाशित समय १८:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु