गृहपृष्ठ टेलिकमले एक बर्षभित्र सातै प्रदेशमा फोरजी पुर्याउने
टेलिकमले एक बर्षभित्र सातै प्रदेशमा फोरजी पुर्याउने
नेपाल टेलिकमले आगामी एक बर्षभित्र देशका सातै प्रदेशमा फोरजी सेवा विस्तार गर्ने भएको छ । सेवा विस्तार गर्न माघमा विभिन्न विदेशी कम्पनीसँग टेलिकमले तीन वटा सम्झौता गरेको छ ।
नेपाल टेलिकमले बिहीबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कोर नेटवर्कका लागि चीनको जेडटीई कर्पोरेसन तथा नेटवर्क १ र नेटवर्क २ का लागि हङकङको सीसीएसआईसँग सम्झौता गरिएको बताए । उनले नेटवर्क १ अन्तर्गत प्रदेश २, ३, ५ र ६ तथा नेटवर्क २ अन्तर्गत प्रदेश १, २, ४, ५ र ७ का विभिन्न स्थानमा सेवा विस्तार गर्ने गरी सम्झौता भएको बताए । सम्झौता अनुसार साइट सर्भेको काम शुरु भइसकेको छ । कम्पनीले २०७३ पुसमा काठमाडौं उपत्यका र पोखराबाट फोरजी सेवा शुरु गरेको थियो ।
नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ४ सय वटा थ्रीजी बीटीएसहरुको स्तरोन्नति गरिएको बताइन् । यस अवधिमा ४ सय ७ वटा बीटीएस थप गरिएका छन् । एक करोड लाइन मोबाइल आयोजनाअन्तर्गत ग्राहकको माग एवम् प्राविधिक अध्ययन अनुसार आवश्यक देखिएका स्थानहरुमा मोबाइल टावर थप गर्ने कार्य जारी रहेको उनले दावी गरिन् । सो आयोजनाअन्तर्गत प्याकेज ‘बी’ को शतप्रतिशत काम सकिएको छ । प्याकेज ‘ए’ को काम ९५ प्रतिशत सकिएको र चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको टेलिकमले जनाएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले गत पुस र माघमा भक्तपुर, पोखरा, बाग्लुङ र पृथ्वी राजमार्गमा गरेको मोबाइल सेवाको गुणस्तर परीक्षणको प्रकाशित अध्ययन प्रतिवेदन अनुसार डाटा सेवामा नेपाल टेलिकमको गुणस्तर सबैभन्दा राम्रो पाइएको टेलिकमको दावी छ ।
त्यसैगरी नेपाल दूरसञ्चार प्राधिकरणले असोजमा काठमाडौमा गरेको मोबाइल सेवाको गुणस्तर परीक्षणको अध्ययन प्रतिवेदन अनुसार नेपाल टेलिकमको भ्वाइस सेवाको स्तर सबैभन्दा राम्रो पाइएको टेलिकमको दावी छ ।
मध्य पहाडी लोकमार्ग अन्तर्गत प्रदेश १, २ र ३ मा पर्ने स्थानमा अप्टिकल फाइबर बिछ्याउने कार्यको जिम्मेवारी नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई दिएको छ । उक्त आयोजनाका लागि ५ मध्ये ४ वटा सम्झौता सम्पन्न भइसकेका छन् । गत मार्च १२ देखि २२ सम्म विभिन्न चरणमा गरिएका सम्झौता अनुसार प्रदेश १ को ५९६ किलोमिटरका लागि कोरियाको एलएस केबुल्स, प्रदेश २ को १०२८ किलोमिटरको लागि आरोग्य कन्स्ट्रक्सन नेपाल र चाइना रेलवेको ज्वाइन्ट भेन्चर तथा प्रदेश ३ को ५५५ किलोमिटरको लागि हङकङको सीसीएसआईसँग सम्झौता भएको छ ।
एडीएसएलमार्फत इन्टरनेट सुविधा उपलब्ध गराइरहेको टेलिकमले तिनका ग्राहकलाई एफटीटीएचमा रुपान्तरण गर्ने र मुलुकभर एफटीटीएच वितरण गर्ने लक्ष्यका साथ नेटवर्क विस्तारको कार्य गरिरहेको छ । इन्टरनेटको साथसाथै आईपीटीभी पनि प्रदान गर्ने लक्ष्यका साथ गृहकार्य भइरहेको कम्पनीले जनाएको छ । देशभर ४० हजार ९ सय ६० लाइन एफटीटीएच प्रदान गर्न सकिने क्षमताको नेटवर्क तयार भएको छ ।
प्रकाशित समय १७:२७ बजे

















