गृहपृष्ठ वन्यजन्तु संरक्षणमा जुट्न मन्त्री बस्नेतको आव्हान

वन्यजन्तु संरक्षणमा जुट्न मन्त्री बस्नेतको आव्हान

काठमाडौं- वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पूर्वाधार निर्माण र वातावरण संरक्षणको समूचित व्यवस्थापन गरेर अघि बढ्ने बताएका छन् । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ), नेपालको २५ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले पूर्वाधार निर्माण मुलुकको अहिलेको पहिलो कार्यसूची भएको हुँदा प्राथमिकता र आवश्यकतालाई तालमेल मिलाएर काम गरिने बताए ।
‘मध्यवर्ती क्षेत्रका नागरिकलाई वन्यजन्तु समस्या होइन, बरु आफ्ना अरू समस्या समाधानको सहयोगी माध्यम हुन्छ भन्ने व्यावहारिकरूपमा महसुस गराउन आवश्यक छ,’ उनले भने, ‘प्रकृति र जैविक विविधताको संरक्षण त्यति बेला हुन्छ जति बेला स्थानीयले वन्यजन्तु हाम्रा बाधक होइनन् भन्ने बुझ्नेछन् ।’ उनले स्थानीय समुदायका लागि वन्यजन्तु संरक्षण गर्न प्रेरित गर्ने लक्षित कार्यक्रम सञ्चालनतर्फ ध्यान पु¥याउन सुझाव दिए ।
विश्व वन्यजन्तु कोष नेपालका निर्देशक डा घनश्याम गुरुङले मुलुकको दीगो विकास र पर्यटन प्रवद्र्धनमा वन्यजन्तु संरक्षणको निकै ठूलो योगदान रहने विश्वास दिलाए । विश्व वन्यजन्तु विकास कोषका लागि अमेरिकाले व्यवस्थापन गरेको कार्यक्रमका उपाध्यक्ष रोवर्टाे ट्रोयाले वन्यजन्तु संरक्षणमा स्थानीय जनतालाई सहभागी गराउन नेपालले अघि सारेको कार्यक्रम उदाहरणीय रहेको धारणा व्यक्त गरे ।
सो अवसरमा नेपाली सेनालाई प्रकृति र वन्यजन्तु संरक्षणमा पु¥याएको योगदानको कदरस्वरूप ‘प्रकृति संरक्षण रजत महोत्सव’ सम्मान प्रदान गरियो । सो अवसरमा जनसंख्या र भूगोलको हिसाबले नेपाल मझौला मुलुक भएपनि लोपोन्मुख वन्यजन्तु संरक्षण र जैविक विविधताका हिसाबले विश्वमै धनी रहेको तथा वन्यजन्तु संरक्षणमा हासिल गरेको प्रगतिको योगदान झल्कने वृत्तचित्र प्रस्तुत गरिएको थियो ।
समारोहमा नेपालमा वन्यजन्तु संरक्षण र जैविक विविधता संरक्षणमा विशिष्ट योगदान पु¥याउने सरकारी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय संघ संस्था र व्यक्तिलाई सम्मान र पुरस्कार प्रदान गरियो । स्न २०११ देखि २०१८ को अवधिमा नेपालमा गैँडाको शून्य चोरी शिकार कायम गर्न सफल भएको भनी नेपाली सेनाका सम्बन्धित निकुन्जमा तैनाथ गणलाई पुरस्कृत गरियो ।
समारोहमा ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा निधन भएका प्रकृति संरक्षणमा महत्वपूर्ण योगदान दिएका व्यक्तिको स्मृतिका लागि स्थापित प्रकृति संरक्षण पुरस्कार विभिन्न छात्रछात्रालाई प्रदान गरियो । नेपालमा विश्व वन्यजन्तु कोषले ५० वर्षदेखि काम गरेपनि कार्यालय स्थापना गरेर काम गरेको २५ वर्ष मात्र पुगेको छ । कोषका कार्यक्रम १०० भन्दा बढी मुलुकमा सञ्चालनमा रहेका छन् ।

प्रकाशित समय १२:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु