गृहपृष्ठ भाँडा बनाउने पेशामा न्युन आकर्षण

भाँडा बनाउने पेशामा न्युन आकर्षण

नेपालगन्ज- कसगर समुदायले बनाउने माटाका भाडा बनाउने पेशामा न्युन आकर्षण रहेको छ । नेपालगन्ज–८ एमपी स्कुलरोडका कसगर परिवारका नयाँपुस्ता माटाका भाँडाकँुडा बनाई यसैबाट वर्षौदेखि जीविको पार्जन भएपनि पुख्र्यौली पेशा प्रति आकर्षण घट्दै गएको बताउछन ।
मेहनत धेरै हुने तर मेहनत अनुसारको बजार नपाईने भएको कारणले उनीहरू यो पेशाप्रति विस्तारै आकर्षण घट्दै गएको हो । नेपालगन्ज उप–महानगरपालिका–८ घर भएकी १६ वर्षिय सनम कसगर भन्छिन,‘बजारमा विभिन्न प्रकारका नयाँ–नयाँ डिजाइनका प्लास्टिकका भाँडाकँुडाहरू आएका छन् । ल्याउन लैजान सजिलो साथै नफुट्ने र फेन्सी देखिने भएकोले प्लास्टिकको भाँडाको अगाडि माटाका भाँडाले मेहनत अनुसारको मुल्य नपाउने उनको कथन छ ।
उनले माटाको भाँडा आवश्यक परे मात्र खरिद गर्ने भएको हुँदा कहिले काही १ वटा भाँडा बेच्न मुस्किल परेको दुखेसो पोख्दै भनिन, ‘दिन बित्छ एउटा पनि भाँडा बिक्दैन यस्तो व्यवसायको के अर्थ जहाँ आफ्नो मेहनतको फल प्राप्त हुँदैन् ।’
उनले आफु पनि आमाको साथमा लागेर धेरै भाँडा बनाउन सिकेको भएपनि दिक्क मान्दै उनले भनिन,‘दिनभरि महेनत गरेर भाँडा बनाउछौ तर सोचे अनुसारको व्यवसाय नहुँदा मेहनत र लागत दुबै खेर जान्छ त्यसैले माटाको भाँडा बनाउने पेशा नै अबको पुस्ताको लागि आकर्षण छैन् ।’
माटाका भाँडाकँुडाको प्रयोग पहिलाको तुलनामा घटेको नेपालगन्ज–८ की ३५वर्षिया रुकसाना कसगर बताईन । उनले भनिन,‘ पहिले पर्व, विवाह बर्तबन्ध, शुद्धकार्य आदीमा माटाका भाँडाको अत्यन्तै प्रयोग हुने गर्दथ्यो अर्डरपनि त्यतिकै हुन्थ्यो तर अहिले अवस्था त्यस्तो छैन ।’
उनले करुवा, पाला, खुत्रुके, फुलदानी, सुराही, घैटो लगायत सामानको माग पहिला जति अहिले नभएको र पहिला विवाह, पुजा, करवाचौथ जस्ता धेरै कार्यक्रममा माटाका भाँडाको प्रयोग हुने गरेको तर अहिले माटाका भाँडा भन्दा प्लास्टिक, तामा, स्टिलको भाँडाको प्रयोग बढी हुने भएकोले माटाका भाँडाको बिक्री घटेको दाबी गरिन ।
माटाका भाँडा बनाउन चाहिने माटो, दाउरा, भुस लगायत कच्च पदार्थको मुल्य बृद्धिले लगानी बढी तर, लगानी अनुसार आम्दानी गर्न निक्कै मेहनत गर्नु पर्ने बाध्यता रहेको रुकसना बताउछिन् । उनले भनिन,‘माटोको भाँडा बनाउन आवश्यक पर्ने माटो, दाउरा, र भुसको मूल्य अत्यन्तै थोरै थियो तर अहिले सबैको मूल्य आकाशिएको छ । एक ट्राली माटोको ५ हजार तिर्नु पर्छ , १० रुपैया प्रति बोरा पाइने भुस ५० रुपिया तिर्नुपर्छ, दाउराको मूल्य त सुन जस्तै महँगो छ अनि कसरी व्यावसाय सञ्चालन गर्ने ।’
नेपालगन्ज उप–महानगर–८ की ४० वर्षिया सबिना कसगरले माटाका भाँडा उत्पादन गरेर बेच्नको लागि पसल नभएको कारण अझ कठिन भएको बताईन । उनले भनिन,‘अन्य भाँडाको प्रतिश्पर्दी भएर बेच्नको लागि पसल राख्न सकिदैन । उप–महानगरले स्थानीय कला र संस्कृतिको संरक्षण गर्नको लागि पनि हाम्रा उत्पादन बेच्ने ठाँउ दिनु पर्ने हो । नत ठाँउ नै पाएका छौ नत कुनै सहयोग नै ।’

प्रकाशित समय ०९:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु