गृहपृष्ठ अछाम जिल्लाकै प्रविधिमा उत्कृष्ट साँफेबगर नगरपालिका

अछाम जिल्लाकै प्रविधिमा उत्कृष्ट साँफेबगर नगरपालिका

अछाम- जिल्लाका १० स्थानीय तहभन्दा साँफेबगर नगरपालिका प्रविधिको प्रयोगमा अगाडि रहेको छ ।
विद्युतीय हाजिरीदेखि कार्यक्रम र कार्यपालिकाको बैठकको जानकारी दिनुपरेमा मोबाइल सन्देश (एसएमएस)मार्फत सबैलाई जानकारी गराइन्छ । कार्यपालिकाको बैठकमा छलफल हुने विषयका बारेमा पनि कार्यपालिका सदस्यलाई जानकारी गराएर त्यस विषयमा अध्ययन गरेर आउनसमेत एसएमएसमार्फत जानकारी गराइँदै आएको कार्यपालिका सदस्य जयन्ती बोगटी बताउँछिन् ।
‘हामीलाई नगरपालिकामा हुने सबै कार्यक्रमको जानकारी एसएमएसमार्फत जानकारी गराइन्छ, उनले भनिन्, ‘हाम्रो नगरले प्रविधिको भरपुर प्रयोग गरिरहेको छ । हामीले प्रविधि प्रयोग गर्नेबारेमा पनि सिकिरहेका छाँै ।’
नेपालका चारधाममध्ये एक वैद्यनाथ मन्दिरमा सुशासन पारदर्शिताका लागि समेत सिसी क्यामरा जडान गरिएको छ । मन्दिरमा चढाइएको दान भेटीको पारदर्शिताका लागि सिसी क्यामेरा जडान गरिएको हो ।
नगरपालिका–१० घुघुरकोटको बेतालमाडाँै उच्च माविमा विद्युतीय हाजिर शुरु गरिएको नगर प्रमुख कुलबहादुर कुँवरले जानकारी दिए । आगामी दिनमा साँफेबगर नगरपालिकाका सम्पूर्ण कार्यालयमा विद्युतीय हाजिर प्रणाली लागू गर्ने उनले बताए ।
सरकारी विद्यालयमा शिक्षक नियमित उपस्थित नहुने गुनासो आएपछि त्यसको अन्त्य गर्न र स्वास्थ्य क्षेत्रमा सुधार गर्न विद्युतीय हाजिर प्रणाली शुरु गरेको कुँवरको भनाइ छ । ‘नगरपालिकाभित्र कागजको प्रयोग हटाउने तयारीमा छु,’ प्रमुख कुँवरले भने, ‘सहजताका लागि पैसा पनि बोक्न नपर्ने गरी पैसा बैंकमा भएपछि र मोबाइल हातमा भएपछि सबै काम हुने बनाउनेछु ।’
अबदेखि नगरभित्र हुने जुनसुकै कार्यक्रम ल्याप टप र प्रोजेक्टरमार्फत गरिने उनले जानकारी दिए । नगरले सबैभन्दा पहिले प्रत्येक वडामा वाइफाई जडानका लागि पहल गरिरहेको छ ।’
कार्यालयका कर्मचारी नियमितरुपमा नबस्ने यस्ता खाले जनगुनासो मध्येनजर गरी शिक्षा र स्वास्थ्यजस्तो अति संवेदनशील सेवामा चुस्त, दुरुस्त सेवा प्रवाह गर्नका लागि इलेक्ट्रोनिक हाजिरी प्रणालीले सहयोग पुर्याउने कुरामा जनप्रतिनिधिको विश्वास रहेको छ ।
गाउँपालिकाकी उपाध्यक्ष अञ्जु आचार्यले शिक्षा र स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा कर्मचारीको अनियमितताले खेलवाड भइरहेको विषयलाई अन्त्य गर्न विद्युतीय हाजिरी प्रणाली शुरु गरेको बताइन् ।

प्रकाशित समय १०:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु