गृहपृष्ठ अछाममा ट्राफिकबाट प्रति महिना १ लाख राजश्व संकलन

अछाममा ट्राफिकबाट प्रति महिना १ लाख राजश्व संकलन

अछाम- जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालू आर्थिक वर्षको १० महिनामा रु ११ लाख बढी राजश्व संकलन गरेको छ ।
कार्यालयले विभिन्न सवारीसाधनलाई कारबाही गरेबापत रकम संकलन गरेको हो । जिल्ला ट्राफिक कार्यालय, साँफेबगरका अनुसार २ सय ३४ वटा बसलाई कारबाहीबाट रु एक लाख ३९ हजार राजश्व संकलन भएको हो । यस्तै २ सय २४ ट्रकको ट्राफिक कारबाहीबाट रु एक लाख ३४ हजार ५ सय राजश्व संकलन भएको छ ।
सबैभन्दा बढी जिपले ट्राफिक नियम उलंघन गरेको पाइएको छ । जिल्लामा ६ सय ५२ वटा जिप ट्राफिक कारवाहीमा परे । कारबाहीबाट रु तीन लाख ६३ हजार राजश्व उठेको छ ।
यसै गरी ३ सय २० ट्रयाक्टरलाई कारबाही गर्दा रु एक लाख ९५ हजार र ५५७ वटा मोटरसाइकललाई कारबाही गर्दा रु तीन लाख २१ हजार राजश्व संकलन गरिएको ट्राफिक कार्यालय अछामले जानकारी दिएको छ ।
गत आवमा एक हजार ६४८ सवारी कारबाहीमा रु १० लाख नौ हजार ५०० संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय साँफेबगरका इञ्चार्ज कर्ण चुनाराले जानकारी दिए । प्रहरीका अनुसार विभिन्न २७ वटा सवारी दुर्घटनामा परी तीनजनाले ज्यान गुमाएको, पाँचजना गम्भीर घाइते भएका र ४२ जना सामान्य घाइते भएका छन् ।
चालू आवको १० महिनामा २७ सवारी दुर्घटनामा परेकामध्ये पाँचवटा ट्रक, आठवटा जिप, आठवटा ट्रयाक्टर र छवटा मोटरसाइकल रहेका छन् । दुर्घटनामा परी ज्यान गुमाउनेमध्ये दुई महिला र एक पुरुष रहेका छन् । घाइते ४२ जनामध्ये छजना महिला र ३६ जना पुरुष रहेको कार्यालय प्रमुख चुनाराले जानकारी दिए ।

प्रकाशित समय १०:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु