गृहपृष्ठ देशभर खानेपानी पु-याउने योजनामा सहयोग गर्न विश्व बैंकलाई खानेपानीमन्त्रीको आग्रह
देशभर खानेपानी पु-याउने योजनामा सहयोग गर्न विश्व बैंकलाई खानेपानीमन्त्रीको आग्रह
खानेपानीमन्त्री बिना मगरले आगामी आर्थिक वर्षभित्र ९२ प्रतिशत र तीन वर्षभित्र शतप्रतिशत जनसंख्यालाई आधारभूत स्तरको खानेपानी सेवा पु-याउन सरकारले लिएको लक्ष्यलाई सहयोग गर्न विश्व बैंकसँग आग्रह गरेकी छन् । विश्व बैंकका प्रतिनिधिमण्डलसँग शुक्रबार सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा भएको भेटघाट तथा छलफलमा मन्त्री मगरले खानेपानीका नयाँ योजनामा थप सहयोग गर्न विश्व बैंकलाई आग्रह गरेकी हुन् । सरकारले शतप्रतिशत जनसंख्यालाई आधारभूत खानेपानी सेवा पु-याउनुपर्ने भएकाले थप लगानी चाहिएको उनको भनाइ छ ।
‘सन् २०३० सम्ममा सबै जनसंख्यालाई प्रशोधित स्वच्छ खानेपानीको पहुँच पु-याउनुपर्ने चुनौती सरकारसँग छ । चुनौतीका बीच केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर दिगो विकासका लक्ष्य हासिल गर्ने दिशामा अघि बढ्नुपर्ने जरुरी छ । यसका लागि देशभर खानेपानी र सरसफाइको गुरुयोजना बनाउँदै छौं,’ उनले भनिन् ।
ग्रामीण भेगका जनताले अझै पनि घण्टौं लगाएर पानी लिन जानुपर्ने स्थिति रहेको भन्दै मन्त्री मगरले ग्रामीण क्षेत्रमा खानेपानीको समस्या समाधान गर्न विश्व बैंकको थप महत्वपूर्ण सहयोग चाहिएको बताइन् । मन्त्रालय मातहत रहेको ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फन्ड बोर्ड) लाई अझ सशक्त बनाएर लैजान चाहेको उनले स्पष्ट पारिन् ।
पहुँचका आधारमा योजना छनौट नगरी सबै क्षेत्रमा समान रुपले योजना छनौट गर्ने र कार्यान्वयनमा लैजाने तयारीमा मन्त्रालय रहेको मन्त्री मगरको भनाइ छ ।
विशेषगरी तराई भेगमा खानेपानीमा आर्सेनिकको मात्रा बढ्दै गएको भन्दै उनले यो समस्यालाई एकैचोटी हल गर्ने तयारीमा मन्त्रालय रहेको बताइन् । ग्रामीण क्षेत्र जस्तै सहरी क्षेत्रको खानेपानी आयोजनामा समेत विश्व बैंकलाई सहयोग गर्न मन्त्री मगरले आग्रह गरिन् ।
नेपालका लागि विश्व बैंकका देशीय प्रबन्धक फारिस हदाद जर्वोसले खानेपानीको क्षेत्रमा नेपाल सरकारले लिएको लक्ष्यलाई पूरा गर्न विश्व बैंक सधैं सहयोग गर्न तयार रहेको बताए । स्थानीय, प्रदेश र केन्द्र सरकारबीच आयोजनालाई अगाडि बढाउने दिशामा समन्वय भएर जान सके अझ राम्रो हुने उनको भनाइ छ ।
प्रकाशित समय १८:१२ बजे

















