गृहपृष्ठ तीन वर्षभित्र शतप्रतिशत जनतालाई खानेपानी : मन्त्री बिना मगर

तीन वर्षभित्र शतप्रतिशत जनतालाई खानेपानी : मन्त्री बिना मगर

bina-magar-newskarobar

खानेपानीमन्त्री बिना मगरले हरेक गाउँ बस्ती र सहर बजारका जनतालाई तीन वर्षभित्र आधारभूत स्तरको खानेपानी सेवा पु-याउन मन्त्रालय संकल्पसहित अघि बढेको बताएकी छन् । नेपाल नगरपालिका संघले शनिबार काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा आयोजना गरेको खानेपानी तथा सरसफाइ मेलाको उद्घाटन गर्दै मन्त्री मगरले भनिन्, ‘प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरेर शतप्रतिशत जनतालाई खानेपानीको सुनिश्चितता गर्न दृढ संकल्पका साथ अघि बढेका छौं ।’

आगामी आर्थिक वर्षभित्र ९२ प्रतिशत र तीन वर्षभित्र शतप्रतिशत जनसंख्यालाई खानेपानी सेवा पु-याउने लक्ष्य पूरा गर्न सबैसँग सहकार्य गरिने उनको भनाइ छ । ‘एकातिर सबै जनतालाई खानेपानी पु-याउनुपर्ने चुनौती छ भने अर्कातिर पूर्ण सरसफाइ कार्यक्रमलाई पनि सँगै अगाडि लैजानुपर्नेछ,’ उनले भनिन्, ‘खानेपानी र सरसफाइलाई अलग राखेर समृद्ध नेपालको अभियान पूरा हुन सक्दैन ।’ आगामी आर्थिक वर्षमा खुला दिशामुक्त राष्ट्र घोषणा गर्ने अभियानमा मन्त्रालय जुटेको उनले जानकारी दिइन् ।

कार्यक्रममा नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोककुमार ब्याञ्जु श्रेष्ठले खानेपानी र सरसफाइका कार्यक्रम र योजनालाई बढी प्राथमिकता दिएर अघि बढ्न सरकारसँग आग्रह गरे । कुनै पनि नगरपालिका र गाउँपालिकाले प्रशोधित स्वच्छ खानेपानी पिउन नपाएको उनले जानकारी गराए । खानेपानीका आयोजना सञ्चालन गर्न र फोहोर व्यवस्थापनमा सरकारसँग सहकार्य गरेर अघि बढ्न सबै नगरपालिका तयार रहेको उनले स्पष्ट पारे ।

प्रकाशित समय १४:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु