गृहपृष्ठ बैतडीमा हावाहुरीले विद्यालयको छाना उडायो, २ लाख ५० हजारको क्षति
बैतडीमा हावाहुरीले विद्यालयको छाना उडायो, २ लाख ५० हजारको क्षति
दैलेखमा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द
सांकेतिक तस्बिर
शनिबार राति आएको हावाहुरीले बैतडीका विद्यालयका छाना उडाएको छ । विद्यालयका छाना उडाउँदा पठनपाठन कार्य प्रभावित भएको छ । हावाहुरीले पाटन नगरपालिका–९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाको तीनकोठे विद्यालय भवनको छाना उडाएको छ । छाना उडाउँदा दुई लाख ५० हजार बराबरको क्षति भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम भाटले जानकारी दिए ।
टिनको छाना उडाउँदाभित्र रहेका २६ बोरा सिमेन्ट, डेस्कबेन्चलगायत अन्य शैक्षिक सामग्री पनि भिजेर नष्ट भएको उनले बताए । कक्षा १, २ र ३ को कक्षाकोठा रहेका भवनको छाना उडाउँदा पठनपाठनसमेत प्रभावित भएको विद्यालयले जनाएको छ ।
२०१८ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल ३०५ विद्यार्थी अध्ययनरत छन् । कक्षा १० सम्म पढाइ हुने सिद्धेश्वर मावि हुक्केडाँडा बैतडीकै नमुनाउन्मुख विद्यालय हो ।
यस्तै हावाहुरीले नै पाटन नगरपालिका–८ खोडपेमा रहेको भगवती महिला बहुउद्देश्यीय कृषि सहकारी संस्थाको दुईकोठे टिनको छाना पनि उडाएको छ । साथै, पाटनकै दलबहादुर विष्ट र गोपालसिंह महराको घरको छाना पनि हावाहुरीले उडाएको छ ।
दैलेखमा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द
हावाहुरीले पोल ढालेपछि दैलेखमा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द छ । विद्युत् आपूर्ति नहुँदा स्थानीयवासीले सास्ती व्यहोर्नुपरेको छ । हावाहुरीले सुर्खेतको गरगरेमा ६ वटा बिजुलीका पोल ढालेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दैलेख प्रमुख धीरेन्द्र बजगाईंले जानकारी दिए ।
ढलेको पोल बनाइसकेकाले रातानाङ्लासम्म विद्युत सेवा आपूर्ति भएइसकेको र अब दैलेखतर्फको विद्युत लाइन मर्मत गर्ने काम भइरहेको उनले बताए । विद्युत आपूर्ति नहुँदा सरकारी कार्यालयको कामसमेत प्रभावित भएका छन् ।
दैलेखका दुई वटै सामुदायिक रेडियो र स्थानीय पत्रपत्रिकाहरु बन्द भएका छन् भने व्यवसायसमेत ठप्प छन् । विद्युत् आपूर्ति नहुँदा यहाँका सरकारी कार्यालयले सेवाग्राहीलाई सहज सेवा दिन सकेका छैनन् । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दैलेखले विद्युत् सेवा नियमित गर्न बेवास्था गरेको स्थानीयवासीको गुनासो छ ।
प्रकाशित समय १०:३१ बजे

















