गृहपृष्ठ प्रहरीमाथि आक्रमण गर्ने लागुऔषध कारोबारीमाथि गोली प्रहार
प्रहरीमाथि आक्रमण गर्ने लागुऔषध कारोबारीमाथि गोली प्रहार
पोखराको उत्तमचोकमा आज बिहान गोली चलेको छ । लागुऔषध कारोबारीमाथि प्रहरीले गोली चलाएको हो । लागुऔषध बोकेर हिँडेको सूचनाका आधारमा बुझ्न गएको प्रहरीमाथि आक्रमणको प्रयास भएपछि प्रतिरक्षाका लागि गोली चलाएको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।
लागुऔषध कारोबारीले प्रहरीमाथि आक्रमण गरेपछि नियन्त्रणमा लिने क्रममा प्रहरीले घुँडाभन्दा तल खुट्टामा गोली प्रहार गरेको एसपी कार्कीले जनाए । प्रहरीले चलाएको गोली लागेपछि घाइते भएका लागुऔषध कारोबारी जोन र डिके भनिने करिब ३० वर्षीय गोविन्द थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ ।
थापाको साथबाट नुर्फिन, फेनार्गन र डाइजोपामलगायतका १५ सय थान लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ । लागुऔषध कारोबारी थापा यसअघि कतारमा सन् २०१४ देखी २०१८ सम्म जेल बसेका थिए भने नेपालमा २०७५ वैशाख २ गते ज्यान मार्ने मुद्दामा जेल चलान भएका थिए ।
लागुऔषध कारोबारीको आक्रमणबाट एक प्रहरी असईको बायाँ खुट्टा र तिघ्रामा चोट लागेको एसपी कार्कीले जानकारी दिए । पोखराको उत्तमचोकको एक क्याफेमा लागुऔषध कारोबारी थापालाई प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १३:२९ बजे

















