गृहपृष्ठ लोकसेवाको विज्ञापन रद्द नगर्न खबरदारी गर्दै माइतीघरमा प्रदर्शन
लोकसेवाको विज्ञापन रद्द नगर्न खबरदारी गर्दै माइतीघरमा प्रदर्शन
संसदको राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्न सरकारलाई निर्देशन दिएपछि विरोध चर्किएको छ । लोकसेवाको विज्ञापन गद्द गरी करारमा भर्ना गर्ने प्रपञ्च सुरु भएको भन्दै साझा विवेकशील पार्टीको नेतृत्वमा युवा तथा विद्यार्थीले राजधानीको माइतीघरमा प्रदर्शन गरेका हुन् ।
विरोध प्रदर्शनमा विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले स्थानीय तहमा कर्मचारी नियुक्तिका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्न नहुने बताए । उनले तत्काल रद्द गर्न दिएको निर्देशन फिर्ता लिन समितिसँग माग गरे ।
लोकसेवा आयोग स्वतन्त्र संवैधानिक अंग भएकाले संसदीय समितिले दिएको सो निर्देशन पालना गर्न बाध्य नहुने उनको तर्क छ । समितिको सोमबार बसेको बैठकले विज्ञापन तत्काल रद्द गर्न सरकार र लोक सेवा आयोगलाई निर्देशन दिएको थियो ।
युवा तथा विद्यार्थीले लोकसेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्ने निर्देशन फिर्ता नलिएसम्म समितिविरुद्धको आन्दोलन जारी राख्ने चेतावनी पनि दिएका छन् । समितिले दिएको निर्देशन फिर्ता लिन दबाब दिँदै काठमाडौंको माइतीघर मण्डलामा दुई दिनयता प्रदर्शन हुँदै आएको छ ।
लोकसेवाले विज्ञापन खुला गरेयताका दुई सातामा करिब १ लाख परीक्षार्थीले आवेदन दिइसकेका छन् ।
प्रकाशित समय १४:१३ बजे

















