गृहपृष्ठ विश्वका मूल्यवान ब्रान्डको सूचीमा अमेजन पहिलो स्थानमा
विश्वका मूल्यवान ब्रान्डको सूचीमा अमेजन पहिलो स्थानमा
विश्वका मूल्यवान ब्रान्डको सूचीमा अमेजन अग्रस्थानमा आउन सफल भएको छ । अमेजनले सन् २०१९ को सबैभन्दा महँगो ब्रान्डको रुपमा आफ्नो स्थान कायम गर्दै गुगल र एप्पललाई पछि पारेको छ । अमेजनको ब्रान्ड मूल्य ३ खर्ब १५ अर्ब डलर पुगेको छ । सन् २०१८ मा ५२ प्रतिशतले अमेजनको मूल्य बढेको थियो । सन् २०१९ मा अमेजन पहिलो स्थानमा पुगेसँगै मूल्यवान ब्रान्डको सूचीमा एप्पल दोस्रो स्थानमा झरेको छ ।
एप्पलको ब्रान्ड मूल्य ३ खर्ब ९ अर्ब ५० करोड डलर छ । त्यसैगरी, गुगल ३ खर्ब ९ अर्ब डलर ब्रान्ड मूल्यका साथ तेस्रो स्थानमा छ । १२ वर्षदेखि उक्त सूचीमा गुगल र एप्पलले कब्जा जमाउँदै आएका थिए । सन् २०१८ मा गुगल शीर्ष स्थानमा थियो ।
ग्लोबल ब्रान्डको उक्त सूची सन् २००६ देखि जारी गरिँदै आएको छ । उक्त समयमा माइक्रोसफ्ट पहिलो स्थानमा थियो । अहिले माइक्रोसफ्ट चौथो स्थानमा छ । माइक्रोसफ्टको ब्रान्ड मूल्य २ खर्ब ५१ अर्ब २० करोड डलर छ । चिनियाँ कम्पनी अलिबाबा उक्त सूचीको सातौं स्थानमा छ । अलिबाबाको ब्रान्ड मूल्य १ खर्ब ३१ अर्ब २० करोड डलर छ ।
प्रकाशित समय १८:२८ बजे

















