गृहपृष्ठ सामुदायिक विद्यालयमा धानी नसक्नु चाप
सामुदायिक विद्यालयमा धानी नसक्नु चाप
रोल्पा सदरमुकाम लिबाङमा रहेको बालकल्याण नमुना माध्यमिक विद्यालयले बितेको एक दशकयता गरेको शैक्षिक सुधारसँगै अभिभावकको आकर्षण बढ्न थालेको छ । सरकारी विद्यालयको पठनपाठन राम्रो नहुने भन्दै निजीतर्फ आकर्षण बढिरहेको बेला रोल्पाको उक्त विद्यालय भने अभिभावकका लागि आकर्षणको केन्द्र बनेको हो ।
व्यवस्थापकीय परिवर्तन र प्रशासनिक सुधारपछि भने अहिले उक्त विद्यालय जिल्लाकै नमुना विद्यालयको रूपमा स्थापित भएको छ । शिक्षा विभागले ‘एक निर्वाचन क्षेत्र, एक नमुना विद्यालय’ को अवधारणाअनुसार रोल्पा जिल्लामा नमुना विद्यालयका रूपमा छनोट भएका दुई विद्यालयमध्ये यो विद्यालय एक हो । अभिभावक, विद्यालय व्यवस्थापन समिति र शिक्षकको लगातारको लगावका कारण विद्यालयको सुधार सम्भव भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानेले बताए । ‘अभिभावकको निरन्तर निगरानी, विद्यालय व्यवस्थापन समितिको खटनपटन एवं जिम्मेवारीबोध तथा शिक्षकमा आएको सेवा भावकै कारण विद्यालयको शैक्षिक सुधार सम्भव भएको हो,’ अध्यक्ष न्यौपानेले भने । विद्यालयमा आएको परिवर्तनसँगै निजी विद्यालय छाडेर यो विद्यालयमा अध्ययन गर्नेको भीड लागेको छ ।
शिक्षकमा कर्तव्यप्रतिको जिम्मेवारी, विद्यार्थीमा अनुशासन र पढ्नुपर्छ भन्ने भित्री अठोट एवं अभिभावकको निरन्तर सहयोग र निगरानीका कारण विद्यालयको शैक्षिक सुधार सम्भव भएको विद्यालयका प्राचार्य मधुसुदन पोखरेलले बताए । विद्यालयको समग्र अवस्था सन्तोष गर्ने स्थितिमा पुगे पनि अझै धेरै गर्न बाँकी रहेको पोखरेलले प्रतिक्रिया दिए । विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनको समीप सम्बन्ध र जिम्मेवारीप्रतिको बुझाइमा एकरूपता नहुँदासम्म विद्यालयको परिवर्तन असम्भव रहेको पोखरेलले अनुभूति व्यक्त गरे । बर्सेनि दुई-तीन सय विद्यार्थी निजी छाडेर आफ्नो विद्यालयमा आउने गरेको पोखरेलले जानकारी दिए ।
चालु शैक्षिक सत्रमा सो विद्यालयमा शिशु कक्षादेखि कक्षा १२ सम्म २ हजार ६६५ विद्यार्थी रहेको विद्यालयले जानकारी दिएको छ । विद्यालयले हाल शिशु कक्षादेखि कक्षा ९ सम्म अंग्रेजी माध्यमबाट पढाउँदै आएको छ । आगामी एक वर्षभित्र कक्षा १० सम्म नै अंग्रेजी माध्यमबाट पठनपाठन गराउने विद्यालयले जनाएको छ । शिशु कक्षादेखि कक्षा ५ सम्म अंग्रेजी माध्यम अनिवार्य बनाइएको छ भने कक्षा ६ देखि १० सम्म अंग्रेजी र नेपाली माध्यमका दुई धारमा पढाइ हुँदै आएको विद्यालयले जानकारी दिएको छ । ‘सोही विद्यालयमा अध्ययन गरेका तथा राम्रो निजी विद्यालयबाट आएकाका लागि अंग्रेजी माध्यम र अन्य विद्यालयबाट आएका विद्यार्थीका लागि नेपाली माध्यमको व्यवस्था गरेका छौँ,’ विद्यालयका प्राचार्य मधुसुदन पोखरेलले भने ।
दश जोड दुईमा विज्ञान, मानविकी, व्यवस्थापन, शिक्षा र कम्युटर विज्ञानको पढाइ भइरहेको विद्यालयले जानकारी दिएको छ । केही वर्षयता यस विद्यालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट सम्बन्धन प्राप्त गरी सब–इन्जिनियर र सब–ओभरसियर विषयमा समेत पठनपाठन गर्दै आएको छ ।
विद्यालयमा बढ्दै गएको विद्यार्थी संख्याको तुलनामा मानवीय र भौतिक संरचनाको व्यवस्थापनमा चुनौती थपिएको विद्यालय व्यवस्थापन समितिका सदस्य पवित्रा आचार्यले बताइन् । बर्सेनि ठुलो संख्यामा नयाँ विद्यार्थी थप हुँदै जाँदा शिक्षकको संख्या पनि थप्नुपर्ने र कक्षाकोठासमेत थप गर्नुपर्ने भएकाले विद्यालयलाई ठूलो व्ययभार हुँदै आएको आचार्यको भनाइ छ । कक्षा ६ देखि १० सम्म दुई भाषामा पठनपाठन गर्नुपर्दा दोब्बर जनशक्तिको व्यवस्थापन गर्नुपरेकाले थप व्ययभार हुँदै आएको उनको भनाइ छ । विद्यालयले अभिभावकलाई सन्तुष्टि दिन सके पनि यसको थप सुधारका लागि विद्यालय व्यवस्थपान समिति र विद्यालय प्रशासन गम्भीरताका साथ लागिपरेको उनले बताइनन् । (उमा केसी/रासस)
प्रकाशित समय १०:३१ बजे

















