गृहपृष्ठ एकै वर्षमा अस्पतालमा दुई हजार ४९२ शय्या वृद्धि

एकै वर्षमा अस्पतालमा दुई हजार ४९२ शय्या वृद्धि

सांकेतिक तस्बिर

कोभिड-१९ कै कारण भए पनि स्वास्थ्य संरचनामा उल्लेखनीय प्रगति हासिल भएको पाइएको छ । सरकारले तीन वर्षमा गरेको उपलब्ध सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रगति विवरणमा अस्पताल र स्वास्थ्य चौकीमा दुई हजार ४९२ वटा शय्या थपिएको जानकारी दिए । यो विगतको तुलनामा ३८.४ प्रतिशत धेरै हो ।

अस्पताल र स्वास्थ्य चौकीमा विगतमा ६ हजार ४९० शय्या रहेकोमा एकै वर्षमा दुई हजार ४९२ थप भई आठ हजार ९८२ पुगेको छ । प्रगति विवरणमा यो वर्षमात्र ३०९ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको लागि एकैपटक शिलान्यास गरिएको छ ।

दुई वर्षभित्र सम्पन्न हुने स्थानीय स्तरका यी अस्पतालमा थप आठ हजार शय्या थपिनेछन् । सरकारले स्थानीय तहमा आवश्यकताअनुसार पाँच, १० र १५ शय्या निर्माण भइरहेका छन् ।

अर्को वर्ष थप २०४ स्थानीय स्तरका अस्पतालको निर्माण सुरु गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै सघन उपचार कक्ष ४ सय शय्या र उच्च निर्भरता (हाई डिपेनडेन्सी) का लागि दुई हजार शय्या थपिएका छन् ।

कोभिड–१९ को महामारी नेपालमा फैलिएको अवस्थामा पहिलोपल्ट पीसीआर परीक्षण गर्न मुलुकमा उपलब्ध प्रविधि पर्याप्त थिएन, पहिलो केसको पीसीआर परीक्षण गर्न संकलित स्वाब विदेश पठाउनुपरेको थियो । अहिले मुलुकमा ८३ वटा पीसीआर परीक्षण गर्ने प्रयोगशाला स्थापना भएका छन् ।

प्रधानमन्त्रीले विश्वलाई नै हल्लाएको महामारीले विकसित मुलुकहरुकै जनस्वास्थ्य सेवाको उपलब्धता र व्यवस्थापकीय क्षमतामाथि पनि गम्भीर प्रश्न खडा गरेको बताए । नेपालमा अहिले अहिले २१ लाखभन्दा बढीको पीसीआर परीक्षण भइसकेको छ । दुई लाख ७२ हजार ८४० जना संक्रमित भएका थिए भने दुई लाख ६९ हजार २०४ जना निको भएर घर फर्किएका छन्, निको हुने दर ९८.७ प्रतिशत छ ।

यस्तै दुई हजार ५५ जनाको संक्रमणबाट निधन भएको छ । कोभिड–१९ को मृत्युदर करिब १ प्रतिशत छ । सरकारले कोभिड–१९ विरुद्धको उपचार निःशुल्क गर्ने व्यवस्था मिलाएको छ भने खोप पनि माघ १४ गतेबाट निःशुल्क दिएको छ ।

प्रकाशित समय ०६:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु