गृहपृष्ठ धौलीगंगा बाँध खोलियो, महाकालीे तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

धौलीगंगा बाँध खोलियो, महाकालीे तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलिएको छ ।

धौलीगंगा पावरस्टेसन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार गएराति १२ बजेदेखि परियोजनाको बाँध खोलिएको हो । महाकाली नदीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रमा जोखिम हुनसक्ने बताइएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले सतर्कता अपनाउन नदी किनारका बासिन्दालाई आग्रह गरेका छन् । बैतडीको सेरादेखि कुस्मतघाटसम्म नदी आसपास नजान प्रशासनले सचेत गराएको हो । बाँध आज बेलुकासम्म खोलिने भए पनि शुक्रबारसम्म नै पानीको बहाब थपघट हुने बताइएको छ ।

यस्तै, दार्चुलाको व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्म तटीय क्षेत्रमा सतर्क भएर रहन आग्रह गरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले बताए । महाकाली नदीमा अहिले पानीको सतह घटबढ भइरहेको बताइएको छ ।

दार्चुलाको दत्तुमा रहेको पूर्वसूचना प्रणालीका अनुसार आज बिहान ६ बजे पानीको सतह ३.४ मिटर पुगेको थियो भने बिहान ७ः३० बजे घटेर २.८ मिटर पुगेको छ । धौलीगंगा बाँध खोलेपछि नेपालको दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको सतह बढ्छ ।

दुई सय ८० मेगावाट विद्युत क्षमताको धौलीगंगा परियोजनाको बाँध खोलिनेबारे पछिल्लो समय भारतीय प्रशासनले पूर्वसूचना गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको छ । २०७० सालमा धौलीगंगाकै लापवाहीले दार्चुला सरमुकाममा अर्बौंको क्षति पुगेको थियो ।

प्रकाशित समय ०९:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु