गृहपृष्ठ सहिदस्तम्भ बन्दै गर्दा औद्योगिक क्षेत्रमा डुबानको खतरा

सहिदस्तम्भ बन्दै गर्दा औद्योगिक क्षेत्रमा डुबानको खतरा

पानीको बहाव नै थुन्ने गरी प्रदेश नं २ सरकारको सहयोगमा सहिदस्तम्भ निर्माण गर्न थालिएपछि सप्तरीको एक मात्र औद्योगिक क्षेत्र गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र डुबानको जोखिममा परेको छ । औद्योगिक क्षेत्र स्थापनाकालदेखि पानी बहावका लागि बनाइएको नाला र पोखरीलाई थुन्दै स्थायी संरचना निर्माण गर्न थालेपछि सप्तरीको रुपनी गाउँपालिकास्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र वर्षायाममा डुबानमा पर्ने र सञ्चालित उद्योगधन्दा धराशायी हुने खतरा बढेको हो ।

औद्योगिक क्षेत्रको पूर्व–दक्षिण छेउमा पानी बहावलाई थुन्ने गरी प्रदेश नं २ सरकारको सहयोगमा सहरी विकास तथा भवन निर्माण कार्यालयले सहिदस्तम्भ निर्माणका लागि माटो थुपारेर इँटाको पर्खाल निर्माण गरिरहेको छ । तत्कालीन नेकपा (एमाले) को मेची–महाकाली अभियानका क्रममा प्रहरीसँगको झडपमा पाँचको मृत्यु भएको स्थानमा अहिले सहिदगेट, सहिद उद्यान र सहिदस्तम्भ निर्माणको काम भइरहेको छ ।

निर्माणाधीन सहिदस्तम्भ पानी बहावको मूल नै थुन्ने गरी बनाउन थालेकाले वर्षातको समयमा औद्योगिक क्षेत्र डुबानमा परी धराशायी हुने औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख दीपकराज आचार्यले जानकारी बताए । ‘औद्योगिक क्षेत्रको पूर्वतर्फबाट पानीको बहाव भइरहेको थियो,’ प्रमुख आचार्यले भने, ‘अहिले त्यो बहावलाई नै थुन्ने गरी स्थायी संरचना बनाइएकाले पानीको निकास रोकिएर सबै पानी औद्योगिक क्षेत्रभित्र जम्छ र उद्योगधन्दाको मेसिनलगायतमा क्षति पु-याउँछ ।’ अघिल्लो वर्षको बाढीले औद्योगिक क्षेत्रको पर्खाल भत्काएको थियो भने औद्योगिक क्षेत्रभित्र पानी जमेर लामो समयसम्म उद्योग सञ्चालन हुन सकेको थिएन ।

औद्योगिक क्षेत्रको स्थापनाकालमै पानी निकासका लागि विसं २०४४ मा निर्माण गरिएको पोखरी पुरेर सहिदस्तम्भ बनाउने कार्य गरिएकाले औद्योगिक क्षेत्र थप समस्यामा परेको प्रमुख आचार्यको भनाइ छ । औद्योगिक क्षेत्रलाई डुबानमा पार्ने गरी सहिदस्तम्भ निर्माण भइरहेको भन्दै औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले सरोकारवाला निकायलाई गुहारेको छ ।

औद्योगिक क्षेत्रको दक्षिणतर्फ निर्माणाधीन संरचनाका कारण त्यहाँ असर पर्ने भन्दै व्यवस्थापन कार्यालयले सहरी विकास कार्यालय, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड केन्द्रीय कार्यालय, जिल्ला प्रशासन कार्यालय सप्तरी र रुपनी गाउँपालिकालाई पत्राचार गरी ध्यानाकर्षण गराएको छ ।

बिजुली, खानेपानी र सुरक्षालगायतका समस्यै समस्याले जुध्दै आएको औद्योगिक क्षेत्रलाई थप समस्या हुने गरी स्थायी संरचना निर्माण गर्न थालेपछि उद्योगीसमेत चिन्तित बनेका छन् । औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका मिलन डेरी उद्योग,  महालक्ष्मी पेन्ट इन्डस्ट्रिज, कान्तिपुर प्लास्टिक उद्योग र कोसी पोलिमर्स उद्योगका सञ्चालकले केही दिनअघि व्यवस्थापन कार्यालयलाई ध्यानाकर्षण गराउँदै पानीको बहाव थुन्ने गरी बनाइरहेको संरचनाले औद्योगिक क्षेत्र डुबानको खतरामा रहेको र यसबाट उद्योगमा क्षति पुग्न सक्ने भन्दै चिन्ता जनाएका थिए ।

यता सहिदस्तम्भ निर्माण गरिरहेको सहरी विकास तथा भवन निर्माण कार्यालय राजविराजका प्रमुख कृष्णदेव झाले सहिदस्तम्भ निर्माणस्थलमा कहिले पनि पानीको प्राकृतिक बहाव नरहेको जिकिर गर्दै पानी बहावको समस्या नहुने बताए । (रासस)

प्रकाशित समय ११:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु