गृहपृष्ठ सिँचाइ नहुँदा बाजुरामा ३० प्रतिशत मात्र रोपाइँ
सिँचाइ नहुँदा बाजुरामा ३० प्रतिशत मात्र रोपाइँ
फाइल तस्बिर ।
यतिबेला कृषक रोपाइँको चटारोमा व्यस्त छन् । असारको मध्यभागमा आइसक्दा पनि पानी नपर्दा खेतीयोग्य जमिनमा पर्याप्त मात्रामा सिँचाइ सुविधा नभएपछि कृषकलाई खेतमा धान रोप्न अझै समस्या उत्पन्न भएको छ ।
कृषकले अघिल्ला वर्षहरुमा असार १५ गतेभित्र जिल्लाका अधिकांश खेतीयोग्य जमिनमा धान रोपेर सक्ने गरेका थिए । यस वर्ष मौसमले साथ नदिएपछि रोपाइँ गर्न ढिलो भएको कृषक इन्द्रादत्त जोशीले बताए ।
बाजुरालगायत देशैभरि जेठ र असारलाई मानो रोपेर मुरी उब्जाउने महिनाका रुपमा लिने गर्छन् । यतिबेला जिल्लाका जुगाडा, मार्तडी, रजाली, आटिचौर, ब्रह्मतोला, बाह्रबीस, तोली, कैलाशमाडौँ, कोल्टी पाण्डुसेनलगायतका खेतीयोग्य जमिनमा धान रोप्ने गरेका छन् । कृषकले करिब ५० प्रतिशत स्थानीय जातको धानखेती गर्ने गरेका छन् भने ५० प्रतिशत उन्नत जातको धानखेती गर्ने गरेको कृषि ज्ञानकेन्द्र बाजुराको तथ्यांक छ ।
‘गत वर्ष जेठको अन्तिम साताबाट रोपाइँ सुरु गर्ने गरेका थियौँ, यस वर्ष सिँचाइ सुविधा नहुँदा असारको पहिलो साताबाट रोपाइँ सुरु गरिएको छ,’ बडीमालिका नगरपालिका–२ का कृषक प्रभते कार्कीले बताए । यता केन्द्रका अनुसार पछिल्लो समयमा जलवायु परिवर्तनका कारण सुक्खा, खडेरी, त्यसैमा मलको अभाव, उन्नत जातको बीउबिजनको अपर्याप्तताका कारण कृषकले बर्सेनि सोचेजस्तो धान उत्पादन गर्न नसकेका हुन् ।
जिल्लामा सिँचाइ सुविधा पर्याप्त मात्रामा नभएपछि जिल्लाको कुल धानखेती हुने ७ हजार २३० हेक्टरमध्ये २ हजार १७० हेक्टर अर्थात् ३० प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको केन्द्रका कृषि प्रसार अधिकृत मीनप्रसाद जैशीले जानकारी दिए । पछिल्लो समयमा केन्द्र र स्थानीय तहका कृषि शाखाले जिल्लामा धानको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न कृषकलाई उन्नतजातको बीउ वितरण, विभिन्न तालिम तथा अन्य सामग्री सहयोग गर्दै आएको जैशीको भनाइ छ । (रासस)
प्रकाशित समय १०:४७ बजे
















