गृहपृष्ठ अपांगता भएकी किशोरीलाई रिकन्डिसन व्यवसायीको सहयोग
अपांगता भएकी किशोरीलाई रिकन्डिसन व्यवसायीको सहयोग
सेकेन्ड ह्यान्ड मोटरसाइकल तथा स्कुटरको कारोबार गर्ने व्यवसायीको छाता संगठन नेपाल रिकन्डिसन व्यवसायी संघले दुवै हात गुमाएकी किशोरी मेघा घिमिरेलाई सहयोग गरेको छ । राजधानीमा ‘दुई पाङ्ग्रे सवारीसाधनबाट हुने जोखिम न्यूनीकरण तथा यातायात व्यवस्था सुदृढीकरण’ विषयक अन्तक्र्रियाका अवसरमा संघले घिमिरेलाई ९२ हजार नगद सहयोग गरेको हो ।
कार्यक्रममा काठमाडौं महानगरपालिका–७ का अध्यक्ष शुद्धकुमार डंगोल, यातायात व्यवस्था कार्यालय गुर्जुधाराका शाखा अधिकृत रामचन्द्र दाहाल, प्रहरी नायब उपरीक्षकद्वय राजेन्द्र पोखरेल र प्रदीपकुमार भट्टराई, संघका महासचिव दिनेश महतलगायत संघमा आबद्ध १४० भन्दा बढी रिकन्डिसन व्यवसायीको सहभागिता थियो । उनीहरुले रिकन्डिसन व्यवसायमा देखिएका समस्याको उचित समाधानका लागि पहल गरिदिन सरोकारवाला निकायका प्रतिनिधिको ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा संघका अध्यक्ष बीएन पाठकले रिकिन्डसन व्यवसाय राज्यको एक महत्वपूर्ण अंग भएर पनि उपेक्षामा पारिएको गुनासो व्यक्त गरे । साथै, उनले देशभर रहेका रिकन्डिसन व्यवसायी एक ढिक्का भई संगठित रुपमा आफ्नो आवाज सरोकारवाला निकाय समक्ष राख्नुपर्ने धारणा व्यक्त गरे ।
अधिकांश व्यवसायीले हाल यो व्यवसायमा देखिएका समस्या र तिनको उचित समाधानका लागि स्थानीय तह, प्रहरी र यातायात व्यवस्था कार्यालयले खेल्नुपर्ने भूमिकालगायत विषयमा जिज्ञासा राखेका थिए ।
प्रकाशित समय १६:५७ बजे

















