गृहपृष्ठ रतुवामाईमा ‘उपाभोक्ता अधिकार तथा स्थानीय बजार व्यवस्थापन’ अभिमुखीकरण
रतुवामाईमा ‘उपाभोक्ता अधिकार तथा स्थानीय बजार व्यवस्थापन’ अभिमुखीकरण
मोरङको रतुवामाई नगरपालिकामा सरोकारवालालाई उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले ‘उपाभोक्ता अधिकार तथा स्थानीय बजार व्यवस्थापन’ विषयक एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाका लागि एकदिने क्षमता अभिमुखीकरण गरेको हो ।
कार्यक्रममा रतुवामाई नगरपालिकाका उपप्रमुख दयन्तदेवी चुडालले नगर क्षेत्रका बजार पसलको अनुगमन गरी उपभोक्ताको अधिकार स्थापित गर्नुपर्नेमा जोड दिइन् । उनले नगर क्षेत्रमा म्याद गुज्रिएका दैनिक उपभोग्य वस्तु फेला पर्ने गरेको, गुणस्तरहीन माछामासु बिक्री–वितरण, अखाद्य वस्तुहरुको मिसावट नियन्त्रण गर्न बजार अनुगमनलाई तीव्र रुपमा अघि बढाउन वडाध्यक्षहरुलाई निर्देशन दिइन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन घिमिरेले बजार व्यवस्थापनमा नगरवासीको भूमिका महत्वपुर्ण हुने बताए । उनले बजार क्षेत्रका सवै पसल तथा व्यापार व्यवसायलाई दर्ताको दायरामा ल्याउनुपर्नेमा जोड दिए ।
त्यस्तै, उपभोक्ता अधिकारकर्मी कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ले उपभोक्ता अधिकार, ऐन तथा कानुनहरु, बजारका समस्यालगायतका विषयमा विभिन्न ५ वटा कार्यपत्र प्रस्तुत गर्दै सहजीकरण गरेका थिए । कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, नागरिक समाजका अगुवा, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मीलगायतको सहभागिता थियो ।
प्रकाशित समय १६:४८ बजे

















