गृहपृष्ठ साठी वर्ष पुरानो कुवाको भरमा ६२ परिवार

साठी वर्ष पुरानो कुवाको भरमा ६२ परिवार

kuwako pani newskarobar

जाजरकोटको भेरी नगरपालिका-१ मैदेका बासिन्दा ६० वर्ष पुरानो कुवाको पानीको भरमा तिर्खा मेटाइरहेका छन् । भेरी नगरपालिका–१ मैदेमा २०१६ सालमा बनेको पँधेरो, कुवा सञ्चालन गरेर दैनिक यहाँका ६२ घरधुरी किसान पानीको जोहो गर्दै आएका हुन् ।

जिल्लामा बनेका खानेपानी आयोजनामध्ये दिगो विकासको नमूनाका रुपमा मैदेको कुवालाई लिन सकिने वडा नं १ का वडाध्यक्ष दीपक रानाको भनाइ छ । ‘आयोजना निर्माण गरेको पाँच वर्ष बित्न नपाउँदै उपभोग गर्न नमिल्ने खानेपानी आयोजना बनिरहेको छ,’ उनले भने, ‘कुवा निर्माण गरेको ६० वर्षको समय पार गरे पनि उपभोक्ताले उपभोग गरिरहेको जिल्लाकै एक मात्र आयोजना होला भन्ने मलाई लागिरहेको छ ।’

तत्कालीन अञ्चलाधीशको पहलमा २०१६ मा उक्त कुवा निर्माण भएको हो । ७० वर्षीय डोइलीवीर राना भन्छन्, ‘उक्त कुवामा प्रयोग भएको सिमेन्ट, इँटा, बालुवालगायतका सामग्री ढुवानी गर्नलाई मैदे गाउँवासीले श्रमदान गर्नुपरेको थियो, त्यतिबेला सिमेन्ट यहाँ पाइँदैन्थ्यो, नुन लिन नेपालगञ्ज जाँदा नुनसँगै प्रतिव्यक्तिले चार/चार माना सिमेन्ट, रावतगाउँमा बनेको इँटा र पिपेबाट बालुवा ढुवानी गरेका थियौँ ।’

कुवा निर्माण गर्दा इँटाको पर्खामा चुन, इँटाको धुलो र सिमेन्टको प्रयोग गरिएको रानाले बताए । २०१६ मा निर्माण गरिएको कुवालाई २०४४ तिर युनिसेफको आर्थिक सहयोगमा सिमेन्ट प्लास्टर गरिएको थियो । हालसम्म कुवाको पानी उपभोग गर्ने मैदेगाउँका ६२ घरधुरी सङ्ख्या रहेको नैनबहादुर रानाले जानकारी दिए । पानीको स्रोत निकै कम रहेको भए पनि कुवाको पानी खानुको विकल्प नभएको नैनबहादुरको भनाइ छ । ‘एडिबीको आर्थिक सहयोगमा ड्रिल्पीमार्फत २०६७/६८ मा बनाइएको खानेपानी आयोजना सञ्चालनमा नआएपछि मैदेवासी कुवाको पानी पिउन बाध्य छौँ,’ उनले भने ।

६० वर्ष पहिलेदेखि मैदेवासीले पिउँदै आएको कुवाको पानीको स्रोतलाई घट्न नदिन मुहान वरिपरि वृक्षरोपण गर्नुपर्ने, कुवालाई संरक्षण गर्न घेरबार, त्यसको पुनःनिर्माणमा जोड दिनुपर्ने मैदेवासीले माग राख्दै आएका छन् । (रासस)

प्रकाशित समय १०:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु