गृहपृष्ठ सप्तरीमा दुई सय एचआइभी संक्रमित

सप्तरीमा दुई सय एचआइभी संक्रमित

एचआइभी संक्रमितमाथि समाजको दृष्टिकोण, लाञ्छना र भेदभावलाई समुदायस्तरबाटै न्यूनीकरणका उपाय अवलम्बन गरिनुपर्नेमा जोड दिइएको छ ।

एचआइभी संक्रमितमाथि हुने लाञ्छना तथा भेदभाव न्यूनीकरणका सम्बन्धमा आइतबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सरोकारवालासँग आयोजित अन्तर्क्रियामा जोड दिइएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको सहयोगमा उक्त अस्पतालद्वारा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविका र सरोकारवालालाई उक्त विषयमा जानकारी दिइएको एचआइभी÷एड्सका परमर्शदाता सुनिता यादवले बताए ।

सप्तरीमा २१२ एचआइभी संक्रमित रहे पनि लोकलाज र चेतनाको कमीले एचआइभी संक्रमित औषधोपचारका लागि खुलेर अगाडि आउने नगरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । सुरक्षा कवच अपनाऔँ तर भेदभाव नगरौं भन्दै उनले सन् २०२० सम्ममा ९० प्रतिशत संक्रमित पत्ता लगाएर तिनको उपचार गर्ने र ९० प्रतिशत नै जीवाणु कम गर्ने सरकारको नीति रहेको जानकारी दिए ।

निर्मलीकरण नगरिएका सिरिन्ज र ब्लेडको साझा प्रयोगबाट, -यालबाट, एचआइभी संक्रमितको रगतबाट, शरीरका अंग प्रत्यारोपण, संक्रमित आमाले गर्भधारण गर्दा पनि सजिलै एचआइभी सर्न सक्ने भएकाले जथाभावी यौन सम्पर्कबाट मात्र एचआइभी सर्छ भन्ने सोच हटाउनुपर्ने डा. दासले बताए ।

उक्त अस्पतालका नर्सिङ निरीक्षक लक्ष्मी चौधरीले छुँदैमा, हात मिलाउँदैमा, सँगै बस्दैमा, लुगा साटासाट गर्दैमा एचआइभी नसर्ने भएकाले संक्रमितलाई लाञ्छना लगाई तिरस्कार गर्नुभन्दा सकारात्मक व्यवहारले सहयोग गरेर उनीहरुको आयु बढाउन सकिने बताए ।

निःशुल्क औषधोपचारको व्यवस्था भए पनि अस्पतालको तथ्यांकअनुसार जिल्लामा एचआइभी संक्रमित १११ जनाले मात्र नियमित स्वास्थ्य परीक्षण र औषधि सेवन गर्दै आएकामा ११ बालबालिका पनि छन् । एचआइभी एड्सका कारण हालसम्म १३ पुरुष, तीन महिला र दुई तेस्रो लिंगीको मृत्यु भइसकेको उक्त अस्पतालले जनाएको छ । (रासस)

प्रकाशित समय १५:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु