गृहपृष्ठ कृषक समूहलाई आधुनिक कृषि सामग्री वितरण

कृषक समूहलाई आधुनिक कृषि सामग्री वितरण

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र गठित ३० कृषि समूहलाई आधुनिक कृषि सामग्री प्रदान गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना खोटाङ र नगरपालिकाको लगानीमा खरिद गरिएका सामग्री कृषि समूहलाई वितरण गरिएको हो ।

कृषि पेसालाई यान्त्रीकरण गर्दै व्यावसायीकरण गर्ने उद्देश्यका साथ परियोजनाको ५० प्रतिशत, नगरको ४० प्रतिशत र कृषकको १० प्रतिशत लगानीमा कृषि यान्त्रीकरण प्रदान गरिएको परियोजना कार्यान्वयन एकाइ (मकै जोन) कार्यालयका निमित्त प्रमुख ध्रुवकुमार कार्कीले बताए । ‘परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने  योजना सरकारले बनाएको छ,’ उनले भने, ‘कृषकको मागअनुसार आधुनिक सामग्री पाएपछि उनीहरु पनि हर्षित भएका छन् ।’

प्रतिगोटा ५० हजार रूपैयाँ मूल्य पर्ने १२ कम्बाइल मिल, प्रतिगोटा १४ हजार मूल्य पर्ने ३० कन्सेलर सिंगल ट्युब, प्रतिगोटा १६ हजार मूल्य पर्ने ३० तौलने मेसिन, प्रतिगोटा ८० हजार मूल्य पर्ने पाँच मिनीटिलर र प्रतिगोटा ७० हजार रूपैयाँ मूल्य पर्ने पाँच मिनीटिलर वितरण गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषि शाखा प्रमुख गणेशप्रसाद आचार्यले जानकारी दिए ।

यस्तै कृषि ज्ञान केन्द्र खोटाङ पनि जिल्लाका कृषक समूह, कृषि सहकारी, निजी कृषि फार्म र उद्यमीलाई कृषि यन्त्रहरू प्रदान गरेको छ । केन्द्रले जिल्लाका ६६ कृषक समूह, कृषि सहकारी, निजी कृषि फार्म र उद्यमीलाई कृषि यान्त्रीकरण औजार प्रदान गरिएको केन्द्र निमित्त कार्यालय प्रमुख हरिनारायण राईले बताए ।

कृषि ज्ञान केन्द्रको कार्यालयमा बुधबार भएको कार्यक्रममा नगरप्रमुख दीपनारायण रिजालले सामग्री हस्तान्तरण गरेका हुन् । पछिल्लो समय जिल्लाका कृषक परम्परागत कृषि प्रणालीलाई छाडेर आधुनिक प्रणालीमा आकर्षित हुँदै गएका छन् । (रासस)

प्रकाशित समय १२:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु