गृहपृष्ठ डुबेर दुई बालकको मृत्यु, एक बेवारिसे शव फेला
डुबेर दुई बालकको मृत्यु, एक बेवारिसे शव फेला
प्रदेश १ का छुट्टाछुट्टै दुई स्थानमा बाढीको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ । बेवारिसे अवस्थामा एक व्यक्तिको शव फेला परेको छ ।
झापाको मेचीनगर नगरपालिका–१३ मा स्थानीय फूलवासा खोलाले बगाउँदा गंगाराम प्रसाईंका अढाई वर्षीय छोरा अजितको मृत्यु भएको हो । सोमबार बिहान बाबु खेतमा जाँदै गर्दा पछ्याउँदै जाने क्रममा खोलाले बगाएर गम्भीर घाइते बनेका बालकको झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
त्यस्तै, सुनसरीको हरिनगरा गाउँपालिका–२ मा नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । भुटाहा–सिसुवा धरमपुर सडकखण्डमा पर्ने नहरमा चिप्लिएर पानीमा डुब्दा स्थानीय अकबल मियाका १२ वर्षीय छोरा तोसिबको मृत्य भएको हो । नहरमा डुबेर गम्भीर घाइते मियाको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
त्यस्तै मोरङको रंगेलीमा बेवारिसे अवस्थामा एक व्यक्तिको शव फेला परेको छ । रंगेली नगरपालिका–९ स्थित गेउरीया खोला किनारामा बेवारिसे अवस्थामा तराई मूलको जस्तो देखिने अन्दाजी २८ वर्षीय पुरुषको शव फेला परेको हो । शव परीक्षणका लागि रंगेली अस्पतालमा राखिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रकाशित समय १५:०२ बजे

















