गृहपृष्ठ मनसुन कमजोर बन्यो, खण्डवृष्टिले किसानको बेहाल
मनसुन कमजोर बन्यो, खण्डवृष्टिले किसानको बेहाल
गत शुक्रबारदेखि पूर्ण सक्रिय रहेको मनसुन कमजोर बन्न थालेसँगै देशका किसानहरूमा चिन्ता सुरू भएको छ । अरब सागर पश्चिमबाट आएको हावाले शिवालिक, महाभारत र हिमालको फेदसम्ममात्रै पानी परेको मौसमविदहरूले बताएका छन् |
सामान्यतयाः नेपालमा बंगालका खाडी हुँदै मनसुन प्रवेश गर्नुपर्नेमा यस वर्ष अर्को दिशाबाट मनसुन भित्रिएको उनीहरूको भनाइ छ । सामान्यतयाः जुन १० मा भित्रिनुपर्ने मनसुन यस वर्ष १० दिन ढिला गरी भित्रिएको थियो । अरब सागरमा आइसकेपिछ मनसुन केही दिनका अन्तरालमा बंगालको खाडी हुँदै उत्तरपूर्वतर्फ लाग्नु पर्नेमा अहिलेसम्म आसाम,बंगलादेश,बर्मा, थाईल्यान्डतिर घुमेकाले नेपालमा त्यसको प्रभाव परेको मौसमविदहरू बताउँछन् ।
यस्तो अस्वभाविक मनसुनी गतिविधिले मध्य तराई तथा पूर्वी तराई क्षेत्रमा ठूलो वर्षा गराएर जनधनको क्षति गरे पनि पश्चिम नेपालमा आवश्यकताअनुसार पानी नै परेन, जसले गर्दा अहिले देशका धेरै ठाउँमा धान रोपाइँ नै हुन सकेन ।
मनसुनी न्यून चापीय रेखा नेपालको तराई क्षेत्रबाट दक्षिण सर्दै गएकाले अबका केही दिन मनसुनी गतिविधि कमजोर हुने मौसमविद् समिर श्रेष्ठले बताए ।
“न्यून चापीय रेखा (वर्षा गराउने वायु) विस्तारै दक्षिण सर्दै छ त्यसैले अबको केही दिन वर्षा कम हुनेछ”, मौसमविद् श्रेष्ठले भने ।
यद्यपि आज देशका मध्य र पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । अन्य स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ रहेको छ । मनसुन सेम्टेम्बरको तेस्रो हप्तासम्म रहने भएकाले कहिले सक्रिय कहिले कमजोर यो क्रम निरन्तर भइरहने बताइएको छ ।
तत्कालका लागि अति भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी २४ घण्टासम्म पहाडी क्षेत्रमा पहिरो र तराईमा बाढीको जोखिम कायमै रहेकाले सामान्य सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । साथै, हवाई तथा सडक यातायातमा समेत वर्षा र कम दृश्यस्थितिका कारण सामान्य अवरोध आउन सक्ने पूर्वानुमान छ ।
राति देशभर सामान्य बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भोलि देशभर आंंशिकदेखि सामान्य बदली रही देशको पूर्वी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही तराई भू–भागका केही स्थानमा र पहाडी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित समय १७:५१ बजे

















