गृहपृष्ठ पोखरामा कुखुराको खोरमा चितुवा भेटियो

पोखरामा कुखुराको खोरमा चितुवा भेटियो

पचभैयाको वन्यजन्तु उद्धार केन्द्रमा घाइते चितुवा

kukhurako-khorma-chituwa-newskarobar

पोखरामा कुखुराको खोरमा पसेको चितुवालाई नियन्त्रणमा लिएर पोखरा पचभैयाको वन्यजन्तु उद्धार केन्द्रको केज (खोर) मा राखिएको छ । पोखरा महानगरपालिका–१६ सिप्लेकुनास्थित सोभितबहादुर केसीको करिब ५ हजार कुखुरा भएको खोरमा पसेको वयस्क चितुवालाई नियन्त्रणमा लिएर पोखरा जुलोजिकल पार्कअन्तर्गतको उक्त केन्द्रको केजमा राखिएको जिल्ला वन कार्यालय कास्कीका प्रमुख रामकाजी श्रेष्ठले बताए ।

उनका अनुसार मंगलबार राति कुखुराको खोरमा पसेको चितुवा बाहिर निस्कने धेरै प्रयासमा फलाम र जालीमा पटक पटक ठोकिदा थकित भएकोले खोरमै लडेर बसेको चितुवालाई इन्जेक्सन दिएर उद्धार गरी बुधबार साँझ उक्त पार्कको केजमा राखिएको छ । चितुवाको आँखामा चोट लागेको हुनाले केही दिन त्यसको रेखदेख आवश्यक भएको उनले बताए । वयस्क पोथी चितुवा कुखुराको खोरभित्र पस्ने ढोका स्प्रिङ प्रकारको भएकोले आफैं धकेलेर भित्र पसेको हुन सक्ने प्रमुख श्रेष्ठले आशंका गरे । केसीको घरमा कुकुरसमेत भएकोले कुकुरको गन्दले चितुवा कुखुराको खोरमा पसेको हुन सक्ने उनले जनाए ।

कुखुरा व्यवसायी केसीले करिब एक घण्टासम्म ढोका खुल्ला राख्दा पनि चितुवा बाहिर ननिस्केपछि उनले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खबर गरेसँगै जिल्ला वनको टोलीले उक्त चितुवालाई उद्धार गर्न चितवनबाट प्रविधिक टोलीको सहायता लिएको थियो । उक्त चितुवालाई डार्टिङ (इन्जेक्सन) दिएर बेहास बनाइ चितुवालाई नियन्त्रणमा लिई पार्कमा लगेर राखिएको हो । उक्त कुखुराको खोरमा मस्तसँग लडेको चितुवालाई बुधबार खोरमा दाना हाल्न जादा केसीका आफन्तले देखे पछि उनीहरु त्रसित भएका थिए ।

एक दिनभरिको प्रयासबाट उक्त चितुवालाई नियन्त्रणमा लिएको थियो । उक्त कुखुराको खोरमा चितुवा बाहिर निस्कने प्रयासमा ठोकिन पुग्दा घाईते हुनुको साथै करिब १० वटा कुखुरा समेत मर्न पुगेको प्रमुख श्रेष्ठले जनाए । उनका अनुसार पोखरा क्षेत्रमा बाघ भेटिदैन विभिन्न प्रकारको चितुवामात्र भेटिन्छ । सशस्त्र वन रक्षक जम्दार क्षेत्र बहादुर थापा, गोविन्द थापा लगायतका कर्मचारी उक्त चितुवाको उद्धारमा खटिएका थिए ।

पोखरामा मानव निर्मित खुला चिडियाखाना हुनुपर्छ भन्ने अवधारणाका साथ पोखरा युनाइटेड क्लबको सक्रियतामा पोखरा महानगरपालिका वडा ३०, ३१ र ३२ स्थित पचभैया चापापानी, चिसाकुना र चैनपुर सामुदायिक वन समेटेर उक्त पार्क निर्माण गरिएको पार्कका अध्यक्ष हिमालय बख्रेलले बताए । घाइते चितुवाको हाल चितवनबाट आएको प्राविधिक टोलीले रेखदेख गरेकोले केही सुधार हुँदै आएको उनले जनाए ।

प्रकाशित समय १७:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु