गृहपृष्ठ बाजुराका झोलुंगे पुल उच्च जोखिममा

बाजुराका झोलुंगे पुल उच्च जोखिममा

jholunge-pul

जिल्लामा लगातारको अविरल वर्षाले बुढीगंगा र कर्णाली नदीमा रहेका पुल उच्च जोखिममा परेका छन् । बुढीगंगा नदीका बाजुराको ताप्रीसेरा, द्वारी, तिपाडा, रापकका झोलुंगे पुल जोखिममा छन् । नदीका कारण छिमेकी जिल्ला अछामको साँफे, बुढाबगरलगायत ठाउँका दर्जनौँ पुल उच्च जोखिममा छन् ।

जिल्लाको पूर्वी–उत्तरी भेगमा पर्ने कर्णाली नदीको पिलुचौर जुकोट पुल उच्च जोखिममा रहेको स्थानीयवासीले बताएका छन् । बुढीगंगा नदीको द्वारीमा रहेको झोलुंगेसम्म पानी पुगेपछि स्थानीयवासीले आवतजावत नै बन्द गरेका छन् । पुल पनि जीर्ण बन्दै गएको छ, नदी बढेर पुलसम्म पुगेपछि आवतजावत नै बन्द भएको स्थानीयवासी धन जैशीले बताए ।

त्यस्तै बुढीगंगा नगरपालिका–२ ताप्रिसेराबाट त्रिवेणी नगरपालिका–९ बाँगापाटा जोड्ने पुल पनि पानीको बहाव बढेपछि पानी पुलसम्म आउनसक्ने भएकाले आवतजावत गर्न निकै जोखिम रहेको गोपाल थापाले बताउनुभएको छ ।

कर्णालीको पिलीचौरमा रहेको झोलुंगे पुल सधैँको वर्षात्को समयमा जोखिममा पर्ने गरेको छ । पुलसँगै जोडिएका आठ परिवार पनि विस्थापित भएका छन् । पुलको दुवैतिर रहेको पर्खालसमेत भत्किने अवस्थामा रहेको स्थानीय गंगराज गिरीले बताए । कर्णाली नदीमा रहेका आधा दर्जन पुल जोखिममा छन् ।

यस्तै वाई–बाँधु जोड्ने पुल, गोत्री–साप्पाटा पुल, हिमाली गाउँपालिकाको रुगिन–मुगु, बाजुरा–हुम्ला जोडने आधा दर्जन पुल जोखिममा रहेको हिमाली गाँउपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले जानकारी दिए । पुलसमेत छोप्ने गरी कर्णाली नदीमा पानीको बहाव बढेपछि बाजुराका कर्णालीपारिका स्वामीकार्तिक गाउँपालिकामा रहेका वाइ, साप्पाटा, जुकोटमा आवतजावत प्रभावित बनेको छ ।

त्यस्तै नदीमा बाढी बढेपछि बाजुराका अन्य दर्जनौँ पुलसमेत बाढीको जोखिममा छन् । अछाम, बाजुरा जोड्ने इकडीगाड पुल, सेरामा रहेको बुढीगंगा, बाजुर्गाड, गुइगाड, कोर्दालीगाड, घटमुना, बाहुलीखोला, दहकोट, मौरे, कोटिलाको दैयालगायतका नदीमा रहेका झोलुंगे पुल जोखिममा रहेको स्थानीयवासीले बताएका छन् ।

खोलामा आवतजावत गर्न अन्य विकल्प नभएपछि ज्यान जोखिममा राखेर पुलमा आवतजावत गर्नुपरेको गौमुल गाउँपालिकाका–२ का स्थानीयवासी धर्मबहादुर बोहराले बताए । जिल्ला समन्वय समितिको तथ्यांकमा जिल्लामा ६५ झोलुंगे पुल छन् । दशकाँै पुराना र थोत्रा झोलुंगे पुल वर्षात्को समयमा बाढीपहिरोको जोखिममा रहेको जिल्ला समन्वय समिति बाजुराले जनाएको छ ।

पुल जीर्ण भएको जिल्लादेखि केन्द्रसम्म जानकारी भए पनि मर्मतका लागि कुनै निकायले वास्ता नगरेको स्थानीयवासीले आरोप लगाएका छन् । (रासस)

प्रकाशित समय ०९:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु