गृहपृष्ठ जडीबुटी चोरी निकासी आरोपमा वडाध्यक्षमाथि कुटपिट

जडीबुटी चोरी निकासी आरोपमा वडाध्यक्षमाथि कुटपिट

पातारासी गाउँपालिका–४ का वडाध्यक्ष कालीबहादुर रावतमाथि लुमगाउँका बासिन्दाले बुधबार कुटपिट गरेका छन् ।

बागजाले सामुदायिक वनको अवैध जडीबुटी चोरी निकासीमा वडाध्यक्षको संलग्नता रहेको भन्दै लुमगाउँका स्थानीयले कुटपिट गरेका हुन् । लुमगाउँका स्थानीयवासीले वडाध्यक्ष रावतमाथि हातपात गर्नु साथै अभद्र व्यवहार गरी कठालो समातेर कमिज च्यातेको आरोप छ ।

कालीबहादुर रावललगायतका स्थानीयवासीको अगुवाइमा वडाध्यक्षमाथि लुमगाउँका स्थानीयले हातपात गरेको आरोप लगाइएको छ । स्थानीयवासीले वडाध्यक्ष रावतविरुद्ध नाराबाजी गर्दै पदबाट राजीनामा दिन मागसमेत गरेका छन् । सामुदायिक वनमा पाइने सेतोचिनी (खिरौँला) चोरी निकासीमा वडाध्यक्षको प्रत्यक्ष सहभागिता रहेको लुमगाउँका स्थानीयवासीको आरोप छ । जनप्रतिनिधि नै अवैध कारोवारमा संलग्न भएको आरोपमा गाउँ नै वडाध्यक्षको विरुद्धमा छ ।

कुटपिट घटनाका आरोपित कालीबहादुर रावलले वडाध्यक्ष रावत जडीबुटी चोरी निकासीमा संलग्न रहेको जिकिर गरे । उनले भने, ‘यस विषयमा वडाध्यक्षसँग भनाभन भएको हो तर हातपात र कुटपिट भएको छैन ।’ गाउँमा विवाद भएको समयमा प्रहरी नआउने र वडाध्यक्षले बोलाएको अवस्थामा आएपछि प्रहरीलाई गाउँबाट लखेट्नुपर्ने स्थिति सिर्जना भएको उनको भनाइ छ ।

गाउँबाट विस्थापित भएका वडाध्यक्ष कालीबहादुर रावतले भने जडीबुटी चोरी निकासीमा आफ्नो संलग्नता नरहेको दावी गरेका छन् । उनका अनुसार स्थानीय सरकारको समन्वय र सहकार्यमा सामुदायिक वनको जडीबुटी चोरी निकासी रोक्न खोज्दा कालीबहादुर रावललगायतको टोलीले हातपात गरेका हुन् । हातपात गरी दुव्र्यवहार गर्दा गाउँमा बस्ने वातावरण सहज नभएका कारण सुरक्षाका लागि जिल्ला सदरमुकाम खलंगा बजारमा बस्दै आएको उनको भनाइ छ ।

बागजाले सामुदायिक वनमा पाइने जडीबुटीको अवैध चोरी निकासी भएको सूचना स्थानीयवासीबाट आएकाले दुईपटक प्रहरी लिएर वनमा गएको वडाध्यक्ष रावतको भनाइ छ । रावतले स्थानीयवासीले लगाएको आरोप न्यायिक निकायले दोषी ठह¥याए कानूनबमोजिम कारवाही भोग्न र वडाध्यक्षको पदबाट राजीनामा दिन तयार रहेको बताए । ज्यान असुरक्षामा रहेको बताउँदै वडाध्यक्ष रावतले गाउँ नै आफूमाथि खनिएकाले घर छोडेर विस्तापित हुनुपरेको बताए ।

यस्तै सुरक्षाका लागि डिल्लीचौर प्रहरी चौकीबाट गएका प्रहरीमाथि लुमगाउँका स्थानीयवासीले ढुंगामुढा गरेका छन् । वडाध्यक्षमाथि हातपात भएको विषयमा बुझ्न गएका प्रहरीमाथि स्थानीयवासीले ढुंगामुढा गरेका हुन् । डिल्लीचौर प्रहरी चौकीका इन्चार्ज प्रेमबहादुर थापाले लुमगाउँका स्थानीयवासीले ढुंगामुढा गरेको बताए ।

वडाध्यक्षमाथिको हातपात घटनाका विषयमा मौखिकरूपमा जानकारी भएको प्रहरी निरीक्षक नवीन वलीले बताए । उनले भने, ‘जाहेरी आएपछि सोहीअनुसार कानूनी प्रक्रियाअनुसार काम हुन्छ ।’ (रासस)

प्रकाशित समय ०९:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु