गृहपृष्ठ बीएससी आईटी अध्ययनका लागि क्यान महासंघले ४९ जनालार्इ छात्रवृत्ति प्रदान गर्ने
बीएससी आईटी अध्ययनका लागि क्यान महासंघले ४९ जनालार्इ छात्रवृत्ति प्रदान गर्ने
काठमाडौं– सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्य गर्दै आएको कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले प्राविधिक शिक्षातर्फ छात्रवृत्तिको सुरुवात गरेको छ । राष्ट्रभित्र सूचना प्रविधिको अध्ययन–अध्यापन गर्ने/गराउने कलेजहरुको सहयोगमा गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न लागिएको हो ।
काठमाडौंको मैतिदेवीमा रहेको सूचना प्रविधि विषयमा अध्यापन गराउने कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसंगको सहकार्यमा क्यान महासंघले यो वर्ष ४९ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेछ । ‘नेसनल आईसीटी स्कलरसिप– २०७५’ नाम दिई देशका सातै प्रदेशका विद्यार्थीले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट एकजना छात्रालाई पूर्ण छात्रवृत्ति र ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिनेछ । ग्रामीण क्षेत्रमा समेत सूचना प्रविधिको विकास र सबै नागरिकमा यसको पहुँच पुर्याउनमा यस कार्यले टेवा पुग्ने विश्वास क्यान महासंघको छ । छात्रवृत्ति प्रदान गर्नेसम्बन्धी सम्झौतापत्रमा सोमबार क्यान महासंघका तर्फबाट अध्यक्ष हेमन्त चौरसिया र लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका तर्फबाट फाउन्डेसनका अध्यक्ष पंकज जलानले हस्ताक्षर गरे ।
छात्रवृत्तिअन्तर्गत फिमेल मेरिट आईसीटी स्कलरसिप प्रत्येक प्रदेशबाट चार जनाका दरले २८ जना छात्रालाई प्रदान गरिनेछ भने आईसीटी मेरिट स्कलरसिप प्रत्येक प्रदेशबाट तीनजनाका दरले २१ जनालाई प्रदान गरिनेछ । सम्झौताअनुसार ४९ जना विद्यार्थीले एक करोड ८३ लाख ३६ हजार पाँच सय रुपैयाँबराबरको छात्रवृत्ति पाउनेछन् ।
छात्रवृत्ति प्राप्त विद्यार्थीले मलेसियाको एसिया प्यासेफिक युनिर्भसिटी अफ टेक्नोलाजी एन्ड इनोभेसनको एफिलिएसनमा सञ्चालित लर्ड बुद्ध एजुकेसन फाउन्डेसनमा स्नातक तहअन्तर्गत बीएससी आईटी अध्ययन गर्न पाउनेछन् । मान्यताप्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंकसहित प्लस टु अर्थात् सो सरह अध्ययन गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याई सीटीईभीटीबाट कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेकाहरुले छात्रवृत्तिका लागि अवेदन दिन सक्नेछन् । त्यस्तै कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीले पनि आवेदन दिन सक्ने क्यान महासंघले जनाएको छ ।
छात्रवृत्ति प्रदान गर्नका लागि क्यान महासंघले जिल्ला, प्रदेश र केन्द्रीयस्तरको छात्रवृत्ति छनौट समिति गठन गर्नेछ । समितिले कक्षा १० र कक्षा १२ को प्राप्त अंक, स्थायी बसोबास, आर्थिक अवस्था र स्थानीय सरकारको सिफारिसका आधारमा छनौट गर्नेछ ।
छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले क्यान महासंघको वेबसाइट www.can.org.np र लर्डबुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइट www.lbef.org बाट २०१८ जुलाई २५ तारिकभित्र आवेदन दिनुपर्नेछ । आवेदन दिँदा एउटा फोटो, नागरिकता या जन्मदर्ता प्रमाणपत्र, कक्षा १० र १२ को मार्कसिटको प्रतिलिपि, कक्षा १२ को प्रवेशपत्र र स्थानीय सरकारको सिफारिसपत्र पेस गर्नुपर्नेछ ।
प्रकाशित समय १७:२७ बजे

















