गृहपृष्ठ भूकम्पप्रभावित चार जिल्लामा टेलिकमको निःशुल्क इन्टरनेट
भूकम्पप्रभावित चार जिल्लामा टेलिकमको निःशुल्क इन्टरनेट
काठमाडौं– नेपाल टेलिकमले भूकम्पबाट अतिप्रभावित चार जिल्लाका ६ सय ७५ स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोकका १ सय ८७, काभ्रेका २ सय ८९, नुवाकोटका १ सय ५९ र रसुवाका ४० स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो ।
टेलिकमले भूकम्पबाट अतिप्रभावित चार जिल्लाका ७ सय ४७ सेवा केन्द्रमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने योजना बनाएको छ । बाँकी ७२ स्थानमा असार मसान्तभित्र सेवा उपलब्ध गराउने टेलिकमले जनाएको छ ।
हालसम्म कम्पनीले २ सय ८४ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, १ सय ४७ हेल्थपोस्ट तथा पब्लिक हेल्थपोस्ट र २ सय ४४ विद्यालयमा विभिन्न प्रविधिमार्फत इन्टरनेट चलाउन सकिने व्यवस्था गरेको छ । जसअनुसार सिन्धुपाल्चोकका ८४ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, ४१ हेल्थपोस्ट तथा पब्लिक हेल्थपोस्ट र ६२ विद्यालय, काभ्रेका १ सय २६ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, ५८ हेल्थपोस्ट तथा पब्लिक हेल्थपोस्ट र १ सय ५ विद्यालय, नुवाकोटका ५७ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, ३६ हेल्थपोस्ट तथा पब्लिक हेल्थपोस्ट र ६६ विद्यालय तथा रसुवाका १७ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, १२ हेल्थपोस्ट तथा पब्लिक हेल्थपोस्ट र ११ विद्यालयमा सो सेवा सञ्चालन गरिएको छ ।
सेवाग्राहीले ती स्थानमा कम्तीमा ५१२ केबीपीएस गतिको अनलिमिटेड इन्टरनेट सेवा दुई वर्षसम्म निःशुल्क उपभोग गर्न पाउनेछन् । कम्पनीले इन्टरनेट सेवा उपलब्ध गराउनका लागि स्थानअनुसार वाइम्याक्स बेस स्टेसन, थ्रीजी डिभाइस र ईभीडीओ उपकरणको व्यवस्था गरेको छ । यसका लागि विभिन्न स्थानमा सर्भिस प्वाइन्ट स्थापना गरिएको छ । सर्भिस प्वाइन्टमा आवश्यकताअनुसार वाइम्याक्स, जीएसएम, सीडीएमए र एडीएसएलमार्फत इन्टरनेट सुविधा उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।
भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउन टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरणबीच २०७४ वैशाख २१ गते सम्झौता भएको थियो ।
प्रकाशित समय १७:४६ बजे

















