गृहपृष्ठ पोखरेलीले दसैंमा खान्छन् डेढ अर्बको मासु
पोखरेलीले दसैंमा खान्छन् डेढ अर्बको मासु
नेपालीहरुको मुख्य पर्व दसैंका अवसरमा अधिकांशका भान्सामा मिठा मिठा खानेकुराका परिकार पाक्ने गर्छ । दसैंमा मासुका विभिन्न परिकार खाने परम्परा जस्तै बन्दै आएको छ ।
काठमाडौंपछिको पर्यटकीय सहर पोखरा पनि दसैंमा बेग्लै ढंगले रमाउने गर्छ । पोखेरीलीले दसैं पर्वमा कति मूल्यबराबरको मासु खाँदा हुन् । यो जिज्ञासाको विषय हुन सक्छ । तर, यसको यकित तथ्यांक भने कसैसँग छैन ।
विभिन्न व्यवसायीसँग सोधपुछ गरेको आधारमा प्राप्त तथ्यांकलाई केलाउने हो भने दसैंमा पोखरेलीका घरमा डेढ अर्ब रुपैयाँबराबरको मासु पाक्ने देखिन्छ । व्यवसायीका अनुसार घटस्थापनादेखि नै पोखरा क्षेत्रमा मासुको जोहो गर्ने र खाने प्रचलन छ ।
हिमालपारिको जिल्ला मनाङ र मुस्ताङबाट ल्याइने भेडा, च्याङ्ग्रासहित विभिन्न जिल्लाबाट ल्याइने खसीबोका, भैंसी, राँगा, कुखुरा गरी पोखरा क्षेत्रमा दसैंमा करिब १ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको मासु खपत हुने कास्की मासु व्यवसायी संघका अध्यक्ष गोविन्द तिवारीले बताए । उनका अनुसार दसैंमा करिब ५० करोड रुपैयाँबराबरको मासुको कारोबार विभिन्न व्यक्ति तथा समूहबाट हुने गरेको छ ।
एक अर्ब रुपैयाँबराबरको कारोबार भने विभिन्न व्यवसायी र भेडा, च्याङ्ग्राको कारोबार पोखरा क्षेत्रमा हुने गरेको अध्यक्ष तिवारीले बताए । उद्यपि, खुला बजार र तथ्यांक राख्ने कुनै निकाय नभएकाले त्योभन्दा बढी मासु खतप हुनसक्ने उनले अनुमान गरे । उनका अनुसार केही व्यक्ति मिलेर टोल टोलमा राँगाभैंसी काट्ने गरेका हुन्छन्, त्यसको हिसाब देखिँदैन ।
अध्यक्ष तिवारीका अनुसार पोखरामा कुखुरा मात्र ४० करोड रुपैयाँभन्दा बढीको कारोबार हुन्छ । पोखरामा अन्य महिनामा खसीबोका दैनिक ३ हजार ५ सयदेखि ४ हजार वटासम्म खपत हुने गरेको छ । दैनिक कुखुराको खपत ४० देखि ४५ हजार किलो हुन्छ । पोखरा क्षेत्रमा टर्की, लोकल कुखुरा तथा अन्य प्याकेजिङ मासुको करिब ५ प्रतिशत दसैंको अवसरमा खपत हुने गरेको अध्यक्ष तिवारीले जनाए ।
पोखरा क्षेत्रमा भेडा, च्याङ्ग्रा मात्र करिब ५० करोडको कारोबार हुने गरेको छ । यो वर्ष पोखरामा २० हजार भेडा, च्याङ्ग्रा भित्रिँदै छन् । एउटा च्याङ्ग्राको मूल्य २० हजारदेखि ३० हजारसम्म पर्ने गरेको छ । व्यवसायीले च्याङ्ग्राको तयारी मासु प्रतिकिलो १ हजार ५ सय रुपैयाँले बिक्री गर्ने गरेका छन् ।
पोखरा खसीबोका व्यवसायी समितिले दसैंलाई लक्षित गरी ११ हजार खसीबोका बिक्री गर्ने तयारी गरेको छ । दसैंमा पोखरा क्षेत्रमा २० करोड रुपैयाँभन्दा बढीको खसीबोका खपत हुने अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले बताए । उनका अनुसार पोखराको चाउथेस्थित खसीबोका बजारबाट मात्रै त्यति परिमाणको कारोबार हुन्छ । दसैंमा करिब ६० प्रतिशतजसो खसीबोका पोखराका गल्ली र चोकमा काटिने गरेका छन् ।
त्यसैगरी पोखराको मियापाटन क्षेत्रमा दसैंमा ५ सयभन्दा बढी भैंसी तथा राँगा बिक्री हुने व्यवसायीले बताए । एउटा भैंसी तथा राँगाको ३० हजारदेखि ६२ हजारसम्म पर्ने गरेको व्यवसायी मोहम्मद इसुफले बताए । पोखरामा करिब ५ करोड रुपैयाँभन्दा बढीको भैंसी तथा राँगाको मासुको कारोबार हुने गरेको छ ।
पोखरामा जिउँदो खसीको प्रतिकिलो ५८० देखि ६१० रुपैयाँसम्म पर्छ । गत वर्ष प्रतिकिलो खसीको ४६० देखि ४८० रुपैयाँसम्म थियो । खसीको तयारी मासु बजारमा प्रतिकिलो ११ सय पर्ने गरेको छ, गत वर्ष ९ सय थियो ।
पोखरा क्षेत्रमा दसैंमा १० लाख किलो कुखुराको मासुको खपत हुने व्यवसायी बताउँछन् । पोखरा क्षेत्रमा दसैैंमा दैनिक ५० हजार किलो कुखुराको मासु खपत हुने पोल्ट्री व्यवसायी संघ कास्कीका अध्यक्ष गुरुप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार करिब ६५ वटा पोल्ट्री व्यवसायीबाट कुखुरा उत्पादन हुने गरेको छ ।
सामान्यतः एउटा पोल्ट्री व्यवसायीबाट ४ देखि ७८ क्विन्टलसम्म कुखुरा पोखरा भित्रिने अध्यक्ष पौडेलले जानकारी दिए । यसरी हेर्दा दसैंका १५ दिनमा करिब ४० करोडको कुखुराको खपत पोखरा क्षेत्रमा हुने गरेको देखिन्छ । कास्कीमा खपत हुने कुखुरा कास्कीका करिब ५ हजार किसानका खोरबाट आउँछन् । खसीबोका भने कास्कीसहित स्याङ्जा, तनहुँ, पर्वत र पाल्पाबाट आउने व्यवसायी बताउँछन् ।
प्रकाशित समय ११:४६ बजे

















