गृहपृष्ठ कोरियोग्राफर रेमोविरूद्ध गैरजमानत वारेन्ट, ८ करोड ठगीको आरोप

कोरियोग्राफर रेमोविरूद्ध गैरजमानत वारेन्ट, ८ करोड ठगीको आरोप

बलिउडका प्रख्यात कोरियोग्राफर तथा फिल्म निर्माता रेमो डिसुजाविरूद्ध गाजियाबाद अदालतबाट गैरजमानत वारेन्ट जारी गरिएको छ । रेमोमाथि एक व्यक्तिसँग ८ करोड रुपैयाँको धोकेबाजीको आरोप लगाइएको छ।

गाजियाबादको सिहानी गेट थाना क्षेत्रका बासिन्दा सतेन्द्र त्यागीले रेमोमाथि करोडौं रुपैयाँ दुरूपयोग गरेको आरोप लगाएका हुन् । रेमोले फिल्म बनाउने बहानामा त्यागीसँग करिब ८ करोड रुपैयाँ ठगी गरेको बताइएको छ ।

समाचारहरूका अनुसार सन् २०१३ मा त्यागीले मुम्बईमा रेमोलाई भेटे र त्यतिबेलै उनलाई रकम पनि दिएका थिए । त्यागीका अनुसार रकम फर्काउन आग्रह गर्दा रेमोले उनीमाथि हमला गराएका थिए ।

वेबदुनियाका अनुसार धोका पाएका त्यागीले सन् २०१६ मा अदालतको आदेशअनुसार रेमोविरूद्ध मुद्दा दर्ता गराए । त्यसैको सुनुवाइ गाजियाबाद जिल्ला न्यायालयमा चल्दै थियो । सुनुवाइका क्रममा नियमित हाजिर नभएकाले न्यायालयले रेमोविरूद्ध गैरजमानत वारेन्ट जारी गर्‍यो ।

प्रहरीका अनुसार प्रहरी महानिरीक्षकले अनुमति दिनासाथ प्रहरी पार्टी मुम्बईस्थित रेमोको आवासमा पुग्नेछ । प्रहरीका अनुसार न्यायालयले रेमोलाई गिरफ्तार गर्न कुनै समयसीमा तय नगरे पनि यथाशीघ्र अदालतमा पेस गर्न भनेको छ ।

प्रकाशित समय १४:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु