गृहपृष्ठ मौलिक हक तथा मानव अधिकारको रक्षा र कार्यान्वयन आवश्यक
मौलिक हक तथा मानव अधिकारको रक्षा र कार्यान्वयन आवश्यक
राष्ट्रिय मानव अधिकार आयोगको विश्वव्यापी आवधिक समीक्षा बैठक जनकपुरमा सकिएको छ । प्रदेश २ स्तरीय बैठकमा प्रदेश प्रमुख तिलक परियारले संविधानले प्रत्याभूत गरेको मौलिक हक तथा मानव अधिकारको रक्षा र कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
उनले जनताहरुले भोग्दै आएका समस्याहरुमा छलफल गरी मानव अधिकारको सवालमा खुला वहस र समीक्षा आवश्यक भएको बताए । यसका लागि राष्ट्र संघीय परिषदले पनि सकारात्मक छलफल गर्नुपर्ने प्रदेश प्रमुख परियारको भनाइ थियो ।
बैठकमा राष्ट्रिय आयोगका सदस्य सुदिप पाठकले प्रहरीले प्रशासन पनि ‘मानव अधिकार रक्षक हुँ’ भनेर काम गर्नुपर्ने बताए । आफू देशका ७४ वटै कारागारमा ४ देखि १० पटक पुगेको बताउँदै उनले अहिले पनि कैदीबन्दीहरु आधारभूत मानव अधिकारबाट वञ्चित रहेको बताए ।
राजनीतिक दलले आपसमा गालीगलौज गर्न छाडेर सकारात्मक आलोचना गर्ने तथा प्रहरी प्रशासनले पनि सुशासन कायम गराउनेतर्फ थप पहल गर्ने हो भने एक वर्षभित्रै मानव अधिकारको प्रत्याभूति हुने पाठकले दावी गरे । यसका साथै प्रत्येक नागरिकले देश र जनताको लागि केही गर्छु भन्ने सपना र योजना बोकेको खण्डमा कसैको पनि मानव अधिकार हनन नहुने बताए ।
प्रदेश २ का सांसद रामआशिष यादवले द्वन्द्वको व्यवस्थापन गर्नसके मानव अधिकारको प्रत्याभूत हुने बताए । ‘सामाजिक, आर्थिक र पर्यावरण मानव अधिकारका मुख्य एजेन्डा हुन् । हामी यसको रक्षाको लागि अग्रसर हुनु आवश्यक छ,’ उनले भने ।
अर्का प्रदेश सांसद शारदा थापाले लैंगिक र जातीय भेदभाव अन्त्य हुनुपर्नेमा जोड दिइन् । ‘पीडितहरु न्याय माग्दै प्रहरीकहाँ धाएको धायै हुने तर प्रहरी भने मुस्कानसहितको मुस्कानै मात्र दिएर बस्ने अवस्था छ । अब यसको अन्त्य हुनुपर्छ,’ उनले भनिन् ।
राष्ट्रिय मानव अधिकार आयोगका निर्देशक मुरारीप्रसाद खरेल, प्रदेश २ का डीआइजी पद्युम्न कार्की, प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले पनि कार्यक्रममा मानव अधिकारको वर्तमान अवस्थाका बारे धारणा राखेका थिए ।
प्रकाशित समय १६:३२ बजे


















