गृहपृष्ठ हाइटीमा खाद्य असुरक्षाप्रति संयुक्त राष्ट्रसंघको चिन्ता
हाइटीमा खाद्य असुरक्षाप्रति संयुक्त राष्ट्रसंघको चिन्ता
लामो समयदेखिको राजनीतिक अस्थिरताका साथै खडेरी र मौसमको प्रतिकूलताका कारण हाइटीमा खाद्य असुरक्षा बढ्दै गएकामा संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।
हालैका महिनाहरुमा यहाँको ठूलो जनसंख्याले खाद्यान्न अभाव झेलिरहेकामा अब थप नागरिक यसको समस्यामा पर्न सक्ने भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको हो ।
संयुक्त राष्ट्रसंघीय खाद्य कार्यक्रमले केही दिनअघि प्रकाशन गरेको इन्टिग्रेटेड फेज क्लासिफिकेसन (आइपिसी) प्रतिवेदनमा अहिले पनि यहाँका करिब ३७ लाख नागरिक खाद्यान्न अभावको समस्यामा परिरहेका छन् ।
यो संख्या अरू बढ्न सक्ने र यसबाट आगामी केही दिनमै यहाँ संकटपूर्ण अवस्था आउन सक्ने पनि उक्त समाचारमा जनाइएको छ ।
प्रतिवेदनले हाइटीमा खाद्यान्न अभावको समस्या एकपछि अर्को गरी बढ्दै गएकाले यसको समाधानका लागि विशेष कदम चाल्नुपर्ने सुझाव दिएको छ ।
हाइटीमा केही महिनादेखि आन्दोलन भइरहेको छ । राजनीतिक अस्थिरताका कारण यहाँको अवस्था अस्तव्यस्त भएको, दिनहुँजसो विरोध प्रदर्शन हुने गरेकोले दैनिक प्रशासन सञ्चालन र बन्द व्यापारमा पनि असर परेको बताइएको छ ।
आगामी मार्च महिनासम्ममा यहाँ कम्तीमा पनि ४० लाख नागरिकले खाद्यान्न अभावको समस्या झेल्न सक्ने उक्त प्रतिवेदनले औँल्याएको छ ।
संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले हाइटीको यो अवस्था अत्यन्तै संकटपूर्ण भएकाले यसप्रति सबै गम्भीर हुनुपर्ने बताएको छ ।
राजनीतिक अस्थिरताका कारण यहाँका विपक्षी दलहरुले महिना दिन भन्दा लामो समयदेखि सरकारका विरुद्धमा प्रदर्शनहरू जारी रहेका छन् ।
यसका कारण हाइटीमा आर्थिक उत्पादनमा असर परेको र खाद्यान्नको कमी हुने खतरा अहिलेको भन्दा झन् बढेको संयुक्त राष्ट्रसंघको उक्त प्रतिवेदनमा जनाइएको हो ।
यही विरोध प्रदर्शनका कारण यहाँ गएको सेप्टेम्बरको मध्यदेखि यहाँको व्यापार व्यवसायका साथै विद्यालय, विश्वविद्यालयहरू पनि बन्द रहेका तथा अन्य प्रशासनिक लगायतका दैनिक कार्य सञ्चालन गर्न पनि अप्ठेरो परेको अधिकारीहरूको भनाइ छ । (रासस)
प्रकाशित समय १३:४९ बजे

















