गृहपृष्ठ जथाभावी हर्न बजाउने साढे ४३ हजार सवारीसाधनलाई कारबाही
जथाभावी हर्न बजाउने साढे ४३ हजार सवारीसाधनलाई कारबाही
फाइल तस्बिर
महानगरीय ट्राफिक प्रहरी महाशाखाले अढाइ वर्षमा जथाभावी हर्न बजाउने साढे ४३ हजार सवारीसाधनलाई कारबाही गरेको छ । महाशाखाले २०७४ वैशाख १ देखि हालसम्म उपत्यकामा जथाभावी हर्न बजाउने ४३ हजार ६२३ सवारीसाधनलाई कारबाही गरेको हो । मंसिरमा मात्रै विशेष अभियान सञ्चालन गरी ५९८ सवारी साधन कारबाहीमा परेको महाशाखाले जनाएको छ ।
ट्राफिक प्रहरीले जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारबाही बढाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीर रुपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारबाही बढाएको हो । महाशाखाले सोमबार मात्र १८८ सवारीसाधनलाई कारबाही गरेको छ ।
ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर हुने भन्दै ट्राफिक कार्यालयले कारबाहीलाई तीव्रता दिएको जनाएको छ ।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी गम्भीर दुर्घटना हुने खतरा भएमा र सवारी गुडिरहँदा सडकको एक भागबाट अर्को भाग नदेखिने खतरानाक मोड / चोकमा हर्न पूर्णरुपमा निषेध गरिएको जानकारी दिए । ‘ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ विपरीत ध्वनि प्रदूषण गर्ने सवारीसाधनलाई आयातमा नै रोक लगाउन अनुरोधसमेत गरेका छौँ,’ उनले भने ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ को (ग) अनुसार ट्राफिक प्रहरीले कारवाही प्रक्रिया चलाउँदै आएको छ । उक्त दफाअनुसार सवारी मोड्न वा ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनि दिएको खण्डमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर ५ सय रुपैयाँ जरिवाना गर्न सक्ने व्यवस्था छ ।
प्रकाशित समय १७:२२ बजे

















