गृहपृष्ठ घरेलु महासंघ र सीटीईभीटीबीच सम्झौता

घरेलु महासंघ र सीटीईभीटीबीच सम्झौता

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच पाठ्यक्रम तथा सीप विकाससम्बन्धी सम्झौता भएको छ । लघु, घरेलु तथा साना उद्योगहरूमा आवश्यक सीपमुलक तालिम सञ्चालन गर्ने उद्देश्यले सो सम्झोता गरिएको हो ।

सीपयुक्त प्राविधिक जनशक्तिको माग प्रक्षेपण, उत्पादन तथा रोजगारी सम्बन्धमा गरिएको सहमतिका लागि महासंघका तर्फबाट अध्यक्ष श्यामप्रसाद गिरी र सीटीईभीटीका तर्फबाट सदस्यसचिव डा. पुष्परमण वाग्लेले सोमबार सम्झौतापत्रमा हस्ताक्षर गरे ।

संघ, प्रदेश, स्थानीय तहस्तरीय जनशक्ति प्रक्षेपण कार्यक्रमहरू सञ्चालन गर्ने, कार्यस्थलमा आधारित सीप विकास तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गर्ने सम्झौतापत्रमा उल्लेख छ ।

सीपमुलक तालिम कार्यक्रम सञ्चालनमा सहयोग गर्ने सदस्य उद्योगलाई कार्यस्थलमा आधारित सीप प्रशिक्षण प्रक्रिया, दायित्व, जिम्मेवारीबारे अभिमुखीकरण प्रदान गर्ने पनि सम्झौतामा उल्लेख छ । सम्झौताअनुसार औद्योगिक प्रशिक्षार्थी तालिमका लागि उद्योग पहिचान, औद्योगिक प्रशिक्षण र आवश्यक सहकार्यका लागि महासंघले सहयोग गर्ने भएको छ । कार्यस्थलमा आधारित तालिम कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक देखिएका नीतिगत सुधारका लागि सम्बन्धित निकायहरुमा संयुक्त पहल गर्ने पनि सम्झौता भएको छ ।

नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योगहरु र महिला तथा युवाद्वारा सञ्चालित उद्यम व्यवसायमा आवश्यक सीपयुक्त प्राविधिक जनशक्तिको माग प्रक्षेपण र सीपको आवश्यकता पहिचान गरी कार्यस्थलको सिकाइका माध्यमबाट जनशक्तिको उत्पादन तथा रोजगारी सुनिश्चिततामा सम्झौताले राम्रो नतिजा दिने अपेक्षा गरिएको छ । सहमति कार्यान्वयनले व्यवसायमा सीपमुलक जनशक्ति उपलव्ध भई उद्योगको स्तरोन्नति हुने र बेरोजगारी समस्या क्रमशः हल हुने अपेक्षा पनि गरिएको छ ।

कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले लघु, घरेलु तथा साना उद्योगहरुमा सीपयुक्त जनशक्ति नभएसम्म यस्ता उद्योग फस्टाउन नसक्ने बताए । उद्योग फस्टाउन नसकेसम्म देश समृद्घ बन्न नसक्ने उनको भनाइ थियो । उद्योगहरुमा चाहिने जनशक्ति उद्योगमैत्री हुनुपर्ने भन्दै अध्यक्ष गिरीले समय सुहाउँदो उत्पादन र प्रतिष्पर्धामा जानका लागि दक्ष जनशक्तिबाट मात्रै सम्भव हुने बताए ।

सीटीईभीटीका सदस्य सचिव डा. वाग्लेले सम्झौता कागजमा मात्रै सीमित हुन नहुनेमा जोड दिँदै उद्योगलाई कस्तो खालको कामदार आवश्यकता पर्छ, त्यसै अनुरुपको जनशक्ति तयार गरिने बताए । उद्योग र त्यसमा काम गर्ने कामदारका लागि सम्मानजनक रुपले काम गर्ने वातावरण बनाउन सम्झौताले भूमिका खेल्ने उनको भनाइ थियो ।

प्रकाशित समय १७:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु